रामेछापमा यात्रुहरुको गुनासो सुन्न मन्थली र सेलेघाटमा राखियो नागरिक सहायता कक्ष, बढी भाडा लिए ठाउँको ठाउँ कारवाही

रामेछाप :- रामेछाप जिल्लामा दशैको लागि सर्वसाधारण यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै रामेछाप जिल्लाको दुई स्थानमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । आजबाट मन्थली बसपार्क र जिल्लाको सेलेघाटमा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्षमा आउने नागरिकहरुको गुनासो तत्काल सम्बोधन गर्ने भएका छन् । चाड पर्व नजिकिँदै जाँदा जिल्लामा यातायाता व्यवस्थापन सम्बन्धि विभिन्न खाले गुनासोहरु आउने भएकाले त्यस्ता गुनासोहरु तत्काल समाधान गर्न सकियोस भन्ने उद्धेश्यकका साथ,नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कायलय रामेछापका प्रमुख होम बहादुर भित्रिकोटीले बताउनुभयो ।

नागरिक सहायता कक्ष’मा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रामेछापले प्राथमिक उपचार सेवा प्रदान गर्नेछ । कक्ष’मा खानेपानीको व्यवस्था फोहारमैलाको व्यवस्थापनका लागी डस्वीन राखिएको छ । जिल्लाका विभिन्न ठाउँमा जाँदा लाग्ने भाडादरको सुचि सहितको बोर्ड मन्थली देवकोटा चोक र बस पार्कमा राखिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख भित्रिकोटीले जानकारी दिनु भयो ।साथै नागरिक सहायता कक्ष’मा सवारी साधनहरुले यात्रुसँग बढि भाडा लिए,क्षमताभन्दा बढि यात्रु बोके आरक्षण सिट नदिए,मादक पदार्थ सेवन गरी सवारी चलाए,सवारीको बिलबुक र चालकको लाईसेन्स विना सवारी चलाएको थाहा पाए , यात्रुलाई गन्तव्यमा नपुराइ विचबाटोमै छोडिदिने जस्ता विभिन्न प्रकारका समस्याहरु भोगेमा,देखेमा वा थाहा पाएमा,नागरिक सहायता कक्ष’मा गएर यात्रुले गुनासो राख्न सकिने छ ।यात्रुहरुको यस्ता गुनासोहरुलाई तत्कालै सम्बोधन गरिने ट्राफिक प्रहरी प्रमुख भित्रिकोटीको भनाई छ । साथै उहाँले यात्राको क्रममा केहि समस्या परेमा तुरुन्त आफनो मोबाईल नम्बर ९८४४०२४४०१ मा फोन गर्न आग्रह गर्नुभएको छ ।रामेछाप जिल्लामा पहिलो पटक नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभयको छ।

प्रतिक्रिया दिनुहोस