दशैँमा ३ हजार खसीबोका काठमाडौं उपत्यकामा भित्रिने

रामेछाप :- काठमाडौमा दशैका लागि उपत्यकामा ३ हजार खसीबोका र च्याङ्ग्रा भित्रिने भएको छ । मुलुकको विभिन्न स्थानबाट १ हजार खसीबोका र २ हजार च्याङ्ग्रा प्रतिगोटा भित्रिने भएको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार देशभर मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छ । तीमध्ये झण्डै तीन लाख ८४ हजार दुई सय दुई गोटा स्वदेशमै उत्पादन हुन्छन् । स्वदेशी उत्पादन तीन लाख ८४ हजार दुई सय दुई गोटाबाट औसत ९२ लाख २० हजार किलो मासु तयार हुन्छ । यस्तै विदेशबाट आयात हुने ४५ हजार सात सय ९८ गोटाबाट १० लाख ९९ हजार एक सय ५२ किलो मासु तयार हुन्छ । दसैंंमा सामान्य दिनभन्दा झण्डै १० दोब्बर हाराहारीमा खसीबोकाको मासु कारोबार हुन्छ । दसैंंमा हुने कारोबारलाई जोड्ने हो भने वार्षिक करिब डेढ खर्बभन्दा बढीको मासु नेपालीले खाँदै आएका छन् । दसैंका लागि ५७ करोड ६० लाख रुपैयाँका ३६ हजार गोटा खसीबोका आयात गरिन्छ ।
संस्थानले गत आर्थिक वर्षमा उपत्यकाका लागि कुल २ करोड १८ लाख २८ हजार ९ सय १२ रुपैयाको लागतमा १२ सय ३२ गोटा खसीबोका र च्याङ्ग्रा भित्राएको थियो । यस्तै संस्थानले गत वर्षको दशैमा ढुवानीसहित खसीबोकाको ३८५ रुपैया र च्याङग्रा ५३० रुपैया प्रति केजीमा मूल्यमा खरिद गरी उपभोक्तमाझ ५१० रुपैयामा प्रतिकेजी खसीबोका र ७१० रुपैयामा च्याङग्रा प्रति केजीको दरले विक्री मूल्य निर्धारण गरिएको थियो । नेपाल खाद्य संस्थानले चालु आर्थिक वर्षमा उपत्यकाका लागि करिब ६ करोड १८ लाख २८ हजार ९ सय १२ रुपैयाको लागतमा ३००० गोटा खसीबोका र च्याङ्ग्रा भित्राउने भएको छ । संस्थानका अनुसार दशैका लागि २ हजार च्याङ्ग्रा र १ हजार खसीबोका उपत्यकामा भित्राउने भएको हो । संस्थानले यो वर्ष भने च्याङ्ग्राको ढुवानीसहित प्रतिकेजी मुल्यमा ५६० रुपैया रहेको छ भने वीरगन्ज र दाङबाट ५सय ५ सय गोटा खसीबोका आयत हुने भएको छ । स्थान अनुसार खसीबोकाको मूल्य फरकफरक हुने भएकोले बीरगन्जबाट आयत हुने खसीको प्रतिकेजी मूल्य २५ केजीसम्मलाई ५५० र २५ केजीभन्दा माथि ५७० रुपैया मूल्य संस्थानले मूल्य निर्धारण गरेको छ भने दाङबाट आयत हुने बोकाको मूल्य ५१० प्रतिकेजी तोकिएको छ भने खसीमा २५ केजीसम्म ५१० रुपैया र २५ केजीभन्दा माथि प्रतिकेजीमा ५३५ रुपैया मूल्य निर्धारण गरेको छ । चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष सन्तोष बहादुर खत्रीले सहरीकरण र जीवनस्तरमा आएको सुधारसँगै नेपाली उपभोक्तामा मासु खाने प्रचलन बढेको बताउदै दशैका लागि उपभोक्ताको मागलाई पूर्ति गर्न नसकिने ठहर छ । संघका अध्यक्ष खत्रीले भारतकोे लखनउ, बहराइच, काल्पी, जसविरनगर, कानपुर र हरियाणालगायतबाट लाम्काने र जमुनापारी जातका खसी आयात गरिन्थ्यो तर सरकारले स्वदेशी उत्पादनलाई प्रोत्साह गर्ने उद्देश्यले अन्य मुलुकको आयत कम गरेको हुनाले आपत्ति जनाएका छन् । संघका अनुसार गत वर्ष भारतबाट ४७ हजार खसीबोका भित्रिएको थियो । तर सरकारले भारतबाट खसीबोकाको आयतमा रोक लगाएको हुनाले १ हजार गोटा मात्र खसीबोका भित्रिने अनुमान रहेको संघका अध्यक्ष खत्रीले बताए । सरकारी तथ्यांक अनुसार सामान्य महिनामा नेपालीले मासिक नौ अर्ब रुपैयाँको खसीबोकाको मासु खाने गरेका छन् । सरकारले लिएको आँकडा र उपभोक्ता मूल्यलाई आधार मान्दा देशभर मासिक नौ अर्ब २८ करोड ८० लाख रुपैयाँको मासु खपत हुने देखिएको छ । संघका अनुसार उपत्यकामा थोकमा खसीबोकाको वार्षिक कारोबार १६ अर्ब मूल्य बराबरको हुन्छ । गत वर्षको तुलनामा करिब ६ प्रतिशतले मासुको मूल्यमा वृद्धि हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस