दशै तिहारको लागि अनलाइनबाट सबै यात्रुलाई टिकटको सुविधा दिनसक्ने बससेवा डटकमको दाबी

काठमाडौँ :- नेपालीको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घर जाने चटारो शुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि यात्रुहरू राति नै गएर बसको टिकटको लागि लाइन लाग्ने गरेका छन् । तर धेरैजसो यात्रुले टिकट पाउन नसकेको गुनासो गर्दै आएका छन् । पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकटमा पनि आकर्षण बढेको छ । यात्रुलाई अनलाइन टिकट उपलब्ध गराएर सुविधा दिन सकिने बससेवा डटकमका सञ्चालक बताउँछन् । यातायात व्यवसायीले सिट संख्या कम दिँदा सबैलाई अनलाइन टिकट उपलब्ध गराउन मुस्किल परेको बससेवाका संस्थापक पिआर खनालले बताए । अघिल्लो वर्षमा करीब ४ हजार यात्रुले अनलाइन टिकट काटेका थिए भने यो वर्ष बुकिङ खुलेको चारदिनमै करीब ८ हजार जनाले टिकट काटिसकेको उनको भनाइ छ । टिकट काट्ने दिन अझै बाँकी रहेको हुनाले यो वर्ष धेरै यात्रुले अनलाइनबाट टिकट काट्ने अनुमान गरिएकोे छ ।बससेवाबाट मुलुकका विभिन्न गन्तव्यका लागि अनलाइन टिकट काट्न सकिन्छ । अहिले अन्यत्रका टिकट कम भएपनि बुटवल, भैरहवा, दाङ, पोखरा, बाग्लुङ, म्याग्दी, चितवन, सुर्खेत, रूकुम, जोमसोम, रामेछाप ,दोलखा , ओखलढुंगा,खोटाङ, नुवाकोट, रसुवा, जनकपुर लगायतका ठाउँका लागि भने पर्याप्त मात्रामा अनलाइनबाट टिकट काट्न सकिने बससेवाको भनाइ छ । पूर्वी तथा सुदूरपश्चिम लगायतका जिल्लाका टिकट भने अनलाइनमा कम उपलब्ध भएकाले पर्याप्त मात्रामा काट्न नसकिएको खनालको भनाइ छ । उनेले भने, ‘अनलाइनमा सिट छोडेमा यात्रुले टिकट काट्न पाइने हो, पूर्वी नेपाल लगायतका केही जिल्लामा व्यवसायीहरूले सिट उपलब्ध नगराएका कारण अनलाइनबाट दिन मुस्किल भएको हो । तर अहिले पनि धेरै क्षेत्रमा जानका लागि अनलाइनबाट टिकट काट्न सकिन्छ । नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने सेवा दिने बससेवा डटकम एकमात्र सेवा प्रदायक भएको खनालको दाबी छ । यात्रुले बससेवा डटकम, इसेवा, आइएमर्ई पे, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतबाट सहजै टिकट काट्न सक्नेछन् । सरकारबाट सहजीकरण हुने हो भने आफुहरूले यातायात क्षेत्रमा चाहिने उच्चस्तरको प्रविधि निर्माण गरेकाले सबै रूटका सवारीलाई अनलाइनमा राख्ने र अग्रिम बुकिङ अनलाइनबाट गर्ने उनको भनाइ छ । उनले भने, ‘अनलाइन टिकट काट्दा शुरूमा टिकट काट्ने हो भने कति गाडी पर्छ, कति सिट बाँकी छन्, कति बुकिङ भए र थप कति गाडी आवश्यक पर्छ भन्ने सबै कुराको अनुगमन गर्न सकिन्छ । टिकट दोहोरिने तथा नपाउने समस्या पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस