मान्छे मार्दै पैसा तिर्दै – लासमाथि बार्गेनिङ गर्दै ओम अस्पताल

काठमाडौं –धादिङ गंगाजमुना गाउँपालिकाकी २९ वर्षिया अनिता गुरुङको पिसाव थैलीमा पत्थरी भयो । बिहीबार बिहान पति दिनेशसँगै अनिता गंगाजमुना गाउँपालिकादेखि धादिङ बेशीसम्म हिँडेरै आइन् । धादिङ बेशीबाट बस चढेर काठमाडौं आइन् र देवरको कोठामा बसिन् । शुक्रबार बिहान काठमाडौंको चावहिलस्थ्ति ओम अस्पतालमा भर्ना हुने र शनिबार पत्थरी निकाल्न शल्यक्रिया गर्ने तयारी भएको थियो । शुक्रबार बिहान खाना पकाएर पति, देवर र नन्दलाई खुवाएर अनिता आफूले पनि खाइन् । खाना खाएर दिनेशले पत्नी अनितालाई शनिबार हुने पत्थरीको शल्यक्रियाका लागि ओम अस्पतालमा शुक्रबार नै भर्ना गरे । शनिबार बिहान ११ बजे शल्यक्रिया गर्ने समय तय भएको थियो । अनिताले आफूलाई चाहिने स्लाइनपानी बोकेर हाँस्दै पत्थरी निकाल्ने शल्यक्रियाका लागि अप्रेशन थिएटरमा पसिन् । चिकित्सकहरु पनि अनिताको पत्थरी निकाल्न अप्रेसन थिएटरमा पसे । केही समयपछि अनिताको शल्यक्रिया सफल भएको भनेर चिकित्सकहरुले नर्मल वार्डमा सारे । शल्यक्रिया पछि अनिताको अवस्था सामान्य भएको बताएका चिकित्सकले ६ घण्टा बित्न नपाउँदै अनितालाई मृत घोषित गरे । शनिबार बिहान ११ बजे शल्यक्रिया गरेको थियो, ६ घण्टापछि साँझतिर बिरामीको मुटु चलेन, वित्नुभयो भन्नुभयो,’ अनिताका एक आफन्तले खबरहबसँग भने, ‘आफूलाई चाहिने स्लाइन पानी आफैंले लिएर शल्यक्रिया गर्न गएको बिरामी शल्यक्रियापछि ६ घण्टा नबित्दै कसरी मर्छ ? हामीले विस्वास गर्नै सकेनौं ।’
शल्यक्रिया भएको ६ घण्टा नहुँदै अस्पतालले मृत घोषित गरेपछि अस्पतालको लापरबाहीले मृत्यु भएको भन्दै अनिताका आफन्तहरु आक्रोशित भए । उनीहरुले उपचारमा लापरबाही भएको भन्दै घटनाको छानबिन गरी संलग्न चिकित्सकलाई कारबाही हुनुपर्ने माग राखे । तर, अस्पताल प्रशासनले मृतकका आफन्तलाई चिकित्सकमाथि कारिबाही गर्ने नियम अस्पतालको नभएको जवाफ दिए । अस्पताल प्रशासनको ‘गैर जिम्मेवारपूर्ण’ जवाफ दिएको भन्दै मृतकका आफन्तले ओम अस्पताललाई कोलो सूचीमा राख्नुपर्ने भन्दै अस्पतालमै आन्दोलन शुरु गरे । अनिताको मृत्युका कारण अस्पतालमा तनावको स्थिति भएपछि ओम अस्पतालले प्रहरी बोलाएर भीड नियन्त्रण गर्‍यो । अस्पताल प्रशासनले घटनालाई बाहिर नल्याउनु भन्दै मृतकका आफन्तलाई वार्ताका लागि बोलायो । हाँसी हाँसी उपचारका लागि गएको बिरामी मृत्यु भएको भनेपछि अस्पतालकै लापारबाही हो, हामीले अस्पतालाई नै कालो सूचीमा राख्नुपर्छ भनेर आन्दोलन गर्‍यौं,’ मृतकका एक आफन्तले भने, ‘हामीले जति आन्दोलन गरे पनि हाम्रो माग पूरा हुने अवस्था देखिएन, अस्पतालका अधिकारीहरुले कारबाही प्रक्रिया यहाँबाट हुँदैन अदालत जानुस् भन्नुभयो, हामी गाउँबाट आएको मान्छे, घरमा बुढा बाबुआमा चिन्तित छन् । त्यसैले बाध्य भएर वार्ता गर्न गयौं । अस्पताल र आफन्तबीच ‘सहमति’ भएपछि अनिताको शव आइतबार टिचिङ अस्पतालमा पोस्ट मार्टममा लागि लगियो । टिचिङ अस्पतालमा लास परीक्षण पछि अनिताको सोमबार नै धादिङमा लगेर अन्त्यष्टि गरिएको छ ।

लासमाथि १ करोडको बार्गेनिङ, २० लाखमा सहमति

अस्पतालले माफी मागेपछि लास अस्पतालबाट लगिएको भनिए पनि वास्तविकतामा अनिताको शवमाथि पैसाको बार्गेनिङ चलेको पाइएको छ । चिकित्सकलाई कारबाहीको माग गरेका मृतकका आफन्तलाई अस्पतालले पैसा दिएर घटनालाई लुकाउने प्रयास गरेको तथ्य फेला परेको हो । अस्पतालले घटना बाहिर नल्याउनु भनेर पैसामा घटना मिलाउने प्रयास गरे पछि मृतकका आफन्तले १ करोड दिनुपर्ने शर्त राखेको स्रोतले खबरहबलाई बतायो । अनिताको लास अस्पतालको शय्यामा वेवासिरे बन्दै गर्दा अस्पताल प्रशासनको हलमा अनिताको लासमाथि बार्गेनिङ शुरु भयो । वार्तामा बसेपछि मृतकका आफन्तलाई अस्पताल प्रशासनले अस्पतालले चिकित्सकलाई कारबाही गर्ने नियम नभएको भन्दै १० लाख दिन्छौं भन्यो, मृतकका आफन्तलाई मिडियाहरुमा पनि समाचार नदिनु भनेर फकाए, ‘तर मृतकका आफन्तले एक करोड दिए मात्रै अनिताको लास उठाउने शर्त राखे । अस्पताल प्रशासन र मृतकका आफन्तवीच अनिताको शवमाथि लामो समय ‘बार्गेनिङ’ भयो । १० लाखमा लास नउठाउने भनेपछि अस्पताल प्रशासनले अनिताको लासको मुल्य १४ लाख तोक्यो । १४ लाखमा पनि मृतकका आफन्त सहमत भएनन् । मृतकका आफन्तहरु आन्दोलन गर्ने भन्दै वार्ताबाट बाहिरिन लागे । अस्पताल नै बन्द गराउँछौं भन्दै मृतकका आफन्त बाहिरिन लागेपछि अस्पतालले पुन २० लाख दिने प्रस्ताव राख्यो । अस्पताल प्रशासनले मृतकका आफन्तलाई २० लाख रुपैयाँको चेक दिए पछि आइतबार साँझ अनिताको लास अस्पतालबाट उठेको स्रोतको भनाइ छ । अस्पताल प्रशासनले मृतकका आफन्तलाई २० लाखको चेक दिँदै पैसा लिएको विषय बाहिर सार्वजनिक नगर्न भन्दै गोप्य सहमति गरेको स्रोतको भनाइ छ । धेरै समय बार्गेनिङ भयो, अन्नितमा अस्पतालले २० लाखसम्म दिने भन्यो, मृतकका आफन्त पनि २० लाख लिएर अनिताको शव उठाउन तयार भए,’ स्रोतले खबरहबसँग भन्यो, ‘अनिताको मृत्युको मूल्य २० लाख तोकियो, तर के कारणले मृत्यु भयो भन्ने छानबिन नै भएन, ओम अस्पतालको गल्ती थिएन भने किन २० लाख तिर्‍यो ? ओम अस्पतालमा यस्तो घटना पहिला पनि भएको छ, तर पैसामा सहमति हुन्छ, घटनालाई लुकाउने प्रयास गरिन्छ ।’

अनिताको आमा बन्ने सपना अधुरै

धादिङ गंगाजमुना गाउँपालिकाकी अनिता गुरुङको १६ वर्षकै उमेरमा विवाह भएको थियो । अनिताका पति दिनेश विवाह भएको १३ वर्षसम्म पनि वैदशिक रोजगारीमा थिए । दिनेश बिदा लिएर २–३ वर्षको फरकमा घर आउने गर्दथे । पति विदेशमै भएकाले अनिताको जिम्मेवारी घरमा भएका बुढी सासु र परिवारको देखदेख र स्याहार गर्नुपर्ने थियो । उनी कक्षा १२ पढ्दै पनि थिइन् । बिहे भएदेखि नै वैदेशिक रोजगारीमा रहेका अनिताका पति दिनेशले पनि अब सन्तान जन्माउने र नेपालमै केही गर्ने भनेर एकवर्ष अघि मात्रै विदेशको काम छाडेर घर फर्किएका थिए । विवाह भएको वर्षौ पछि पति आफूसँगै हुने भएपछि अनिताले आमा बन्न चाहिन् । गुरुङ दम्पतिले सन्तान जन्माउने योजना बनाए । उनीहरु गर्भवती हुनुअघि अनिताको स्वास्थ्य अवस्था आमा बन्न ठीक छ वा छैन भनेर स्वास्थ्य जाँच गराउन एक महिनाअघि चितवनको भरतपुर अस्पताल गएका थिए । अस्पतालमा स्वास्थ्य जाँच गर्दा पिसाब थैलीको नलिमा पत्थरी देखियो । चिकित्सकहरुले पिसाब थैलीमा भएको पत्थरी शल्यक्रिया गरेर निकाल्नुपर्ने भए पनि तत्कालनै खतरा भने नभएको बताएका थिए । तर ‘शरीर भित्र भएको रोग किन पालेर राख्नु ?’ भनेर दिनेशले आफन्तहरुको सल्लाहमा पत्नी अनितालाई ओम अस्पतालमा ल्याएका थिए । ओम अस्पतालमा समयमै शल्यक्रिया हुने र छिट्टै निको हुन्छ भन्ने आशामा दिनेश पत्नीलाई लिएर उपचारका लागि पुगेका थिए । तर, शनिबार साँझ दिनेशले आफ्नी पत्नी गुमाए । उनको बाबु बन्ने सपना पनि अधुरै रह्यो । अनिता आमा बन्न नपाउँदै संसारबाटै बिदा भइन् ।
के भन्छ अस्पताल ?

घटनाको विषयमा ओम अस्पताल प्रशासनले कुनै प्रतिक्रिया दिन मानेको छैन । खबरहबसँगको कुराकानीमा अस्पतालका सुचना अधिकृत विनोद अधिकारीले उपचार खर्च मिनाहा गर्दिने सहमतिपछि मृतकका आफन्तले शव लगेको बताए । उनले भने, ‘उनीहरु कन्भिन्स भएर हिजै गइसके, उनीहरुले भनेका सर्तहरुमा उपचार खर्च मिनाहा गर्ने भनेर पठाएको हो, अस्पताल प्रशासनले नै वार्ता गरेको हो, डाक्टरले भनेको विषयमा उनीहरु कन्भिन्स भए । अस्पतालका सुचना अधिकारीले वार्तामा भएको सहमतिबारे राम्रोसँग जानकारी नदिएपछि हामीले अस्पतालका प्रमूखको सम्पर्क नम्बर माग्यौं ।तर अधिकारीले अस्पताल प्रमूखसँग कुरा गराएनन् । उनले भने, ‘अस्पताल प्रमुख पनि मसँगै हुनुहुन्छ उहाँको कुरा पनि मैले जे बाले त्यहि नै हो । मृतकका आफन्तलाई २० लाख दिएर घटना लुकाउने लागिएको हो भन्ने प्रश्नमा अधिकारीले भने, ‘होइन होइन, त्यो गलत हो, त्यस्तो भएको भए प्रेस रिलिज पठाइहाल्थेउँ नि, कसरी थाहा पाउनुभयो त्यो कुरा ?’ उनले यति भनेर फोन राखे ।

के भन्छ मेडिकल काउन्सिल ?

अस्पतालमा बिरामीको उपचारमा लापारबाही भएको घटनाको विषयमा छानबिन गर्ने निकाय नेपाल मेडिकल काउन्सि हो । तर, अनिताको मृत्युको घटनाबारे नेपाल मेडिकल काउन्सिल बेखबर छ । काउन्सिलका सदस्य डा कालु सिंह खत्रीले अनिताको मृत्युबारे समाचारमा पढेको भए पनि घटनको छानबिन गर्न उजुरी नै नपरेको बताए । कुनै अस्पतालमा उपचारको क्रममा बिरामीको मृत्यु भएमा आफन्तहरुले लापरबाही भएको आंशकामा काउन्सिलमा उजुरी दिए भने काउन्सिलले घटनाबारे छानबिन गरी कारबाही प्रक्रिया अगाडी बढाउँछ,’ डा खत्रीले भने, ‘तर मैले ओम अस्पतालको घटना समाचारमा मात्रै पढेको हुँ, उजुरी आएको छैन, उजुरी नआइ हामीले कारबाही गर्न पाइँदैन । मेडिकल काउन्सिलले लेनदेनमा गरिने सहमतिबारे कुनै अनुसन्धान नगर्ने उनको भनाइ छ ।
स्राेत : khabarhub

प्रतिक्रिया दिनुहोस