नवलपरासिको कावासोतीमा कार र ट्रक ठोक्किदा ५ जनाको मृत्यु

नवलपरासी पूर्वी नवलपरासीको कावासोती नगरपालिका –८ पूर्व–पश्चिम राजमार्गमा सोमबार राति ट्रक र कार एक आपसमा ठोक्किँदा कारमा रहेका पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउने पाँच जनामध्ये तीन जनाको परिचय खुलेको छ । ज्यान गुमाउनेमा देवचुली नगरपालिका –१, केउरेनी बस्ने दीपक भनिने पूर्ण बहादुर विक, देवचुली –५ बस्ने दिलबहादुर ढेंगा मगर र कैलाली घर भएका सुरज राना मगर रहको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभयो । ज्यान गुमाउने अन्य दुई जना पुरुषको परिचय खुल्न सकेको छैन । राति सवा १० बजे पूर्वी नवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कार एक आपसमा ठोक्किएको हो ।

दुर्घटनामा गम्भीर घाइते पाँचै जनाको उद्धार गरी उपचारका लागि चितवन लैजाँदै गर्दा बाटोमा नै सबैजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताउनु भयो । कारमा सवार देवचुली नगरपालिकाका व्यक्ति हुन सक्ने प्रहरीले जनाएको छ । केही कागजात देवचुलीको फेला परेकाले ज्यान गुमाउनेहरु नवलपरासी देवचुलीकै हुनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।
यस्तै, नवलपरासीको मध्यविन्दु नगरपालिका –१० राति पौने २ बजे दाङबाट काठमाण्डौका लागि छुटेको बस पल्टिँदा एक जनाको ज्यान गएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । ना ७ ख ८६४२ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको हो । बस पल्टिँदा मकवानपुर घर भएका बसका चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार चार जनाको नवलपुर अस्पताल, एक जनाको कालिगण्डकी अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस