ओखलढुङ्गामा पनि भव्यताका साथ संबिधान दिवस मनाईदै

रामेछाप : ओखलढुङ्गामा संबिधान दिवसको अवसरमा आज प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको छ । जिल्लाको एकमात्रै नगरपालिका सिद्धिचरण नगरपालिका कार्यालय अगाडीवाट सुरुभएको प्रभातफेरी सदरमुकाम बजारक्षेत्र परिक्रममा गर्दै जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेर समापन भएको थियो ।

प्रभातफेरी कार्यक्रममा निर्वाचित जनप्रतिनिधीहरु, जिल्लाका सरकारी कार्यालयका कर्मचारीहरु, तिनओटै सुरक्षा निकायको टोली जिल्लाका उद्योगी व्यबसायी तथा सञ्चारकर्मीहरु सहभागी भएका थिए । त्यस्तै जिल्ला सदरमुकाम नजिकै रहेका सगरमाथा जनता माद्यमिक विद्यालय, जाल्पा माद्यमिक विद्यालय गैरीगाउँ तथा लालिगुराँस ईङ्लिस बोर्र्डिङ स्कूलका सयौ विद्यार्थी तथा शिक्षकहरुले समेत सहभागीता जनाएका थिए ।

प्रभातफेरी कार्यक्रमको समापनमा जिल्लाका राजनितिक दलका नेता, निर्वाचित जनप्रतिनिधी एवम् कार्यालयका प्रमुखहरुले सम्बोधन गरेका थिए । शुभकामना दिने सम्बोधनका क्रममा बक्ताहरुले संबिधान दिवस २०७६ को अबसरमा सबैले ३ र ४ गते साझ आ–आफ्नो घर तथा अपिसमा दिपावली गर्न अनुरोध गरेका थिए । सम्बोधनका क्रममा बक्ताहरुले विश्वकै उत्कृष्ट संबिधान निर्माण भै घोषणा गरिएको भएपनि कतिपय पक्षलाई सुधार गर्नुपर्ने समेत देखिएकोले आगामी दिनमा त्यसलाई समेत सुधार गर्दै संबिधानको सबैले पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

तिनदिनसम्म मनाउन लागिएको दिवसको पहिलो दिन विहिबार जिल्ला सदरमुकाममा व्यबडमिन्टन प्रतियोगिता र अन्तर माद्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरिएको थियो । व्याडमिन्टन प्रतियोगिताको फाईनल असोज ४ गते शनिवार हुनेछ । दोश्रो दिन ३ गते शुक्रबार प्रभातफेरी कार्यक्रम र एक व्यक्ति एक विरुवा वृक्षारोपण गरिएको छ । त्यस्तै दिवसको तेश्रो दिन असोज ४ गते उद्योग वाणिज्य संघको समन्वयमा सामुदायीक अस्पताल सोब्रुमा बिरामीहरुलाई फलफुल वितरण सगै रेडक्रसको समन्वयमा रक्तदान कार्यक्रम सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिनुभयो ।

संबिधान दिवसलाई देशव्यापी रुपमा हर्ष उल्लासका साथ मनाउदै गर्दा ओखलढुङ्गाका सबै स्थानीय तहहरुले पनि आ–आफ्नो सापेक्षतामा कार्यक्रम गरि मनाएका छन् । संबिधान दिवसको अबसर पारेर प्रदेश सरकारको सहयोगमा युगकवि सिद्धिचरण श्रेष्ठको जन्मस्थलमा राख्ने भनिएको ३४ फिट अग्लो राष्ट्रिय झण्डाको लागि पनि तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस