बुटवल :- नेपाली काँग्रेस रुपन्देहीले संविधान दिवसलाई बिशेष रुपमा मनाउने भएको छ ।
संविधान जारी भएको दिन असोज ३ गते शुक्रबार संविधानको बारेमा प्रशिक्षण तथा जिल्लाका १० स्थानमा साँझ दीपावली गर्न लागिएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृयण खाँणले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका तत्कालिन सभापति स्वर्गीय सुशिल कोईरालाको नेतृत्वमा निर्माण गरि जारी भएको संविधान सफल रुपमा कार्यान्वयन गर्ने दायित्व पनि नेपाली काँग्रेसको भएकाले संविधानको कार्यावयनलाई जोड दिँदै संविधानका राम्रा पक्षहरुको बारेमा आम जनतालाई जानकारी गराउने उद्देश्यले अन्तरक्रिया सहित प्रशिक्षणको कार्यक्रम राखिएको सो पार्टीले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ मा आयोजना गरिएको उक्त प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा सहभागि हुनकालागि नेपाली काँग्रेसले आम पार्टी कार्यकर्ता तथा सर्वसाधारणलाई आह्वान गरेको छ ।
त्यस्तै गरी संविधान दिवसको दिन साँझ जिल्लाका १० स्थानमा दीपावली गर्न लागेको हो । नेपाली काँग्रेसले प्रदेश निर्वाचन क्षेत्र अन्तरगत क्षेत्र नं. १ (क) को देवदह नगरपालिकाको खैरेनी, (ख) को तिलोत्तमा नगरपालिकाको कोटिहवा, क्षेत्र नं. २ (क) को योगिकुटी, (ख) को बुटवल ट्राफिकचोक, क्षेत्र नं. ३ (क) को भैरहवाको देवकोटा चोक र (ख) को सुद्धोधन गाउँपालिकाको फर्साटिकरमा दीपावली गर्ने कार्यक्रम तय गरेको छ ।
त्यस्तै क्षेत्र नं. ४ (क) को रायपुर र (ख)को मझगाउँ, तथा क्षेत्र नं. ५ (क) को लुम्बिनी नगरपालिकाको पर्सा चौराहा र (ख) को सैनामैना नगरपालिकाको दुधराक्ष कलौनीमा दीपावली गरिने जिल्ला सचिव खाँणले जानकारी गराउनु भयो । नेपाली काँग्रेसले दीपावली कार्यक्रममा समेत पार्टीका नेता कार्यकर्तालाई सहभागि हुन र दीपावली गर्न आह्वान गरेको छ