रामेछाप जिल्लामा पनि ११ जनामा डेंगुको संक्रमण

रामेछाप : रामेछाप जिल्लाका ११ जनामा डेंगुको संक्रमण पाइएको छ । काठमाण्डौका विभिन्न अस्पतालमा रामेछाप स्थाई घर भएका ११ जनामा डेंगुको संक्रमण भेटिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । बुधबार अमेरिकियरको आर्थिक सहयोगमा स्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको डेंगु ज्वरो नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रममा स्वास्थ्य कार्यालय रामेछापकी प्रमुख विद्या खनालले संक्रमणबारे जानकारी दिएकी हुन् ।

रामेछाप जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालय प्रमुख खनालले भदौ महिनाको ३१ गते सम्म रामेछाप स्थाई घर भएर विभिन्न स्थानमा बसोबास गरिरहेका ११ जनामा डेंगुको संक्रमण देखिएको बताइन् । उनले देशभर ६२ जिल्लामा फैलिएको डेंगु ज्वरो नियन्त्रणका लागि रामेछापका सरोकारवाला निकाय पनि गम्भीरताका साथ लाग्नुपर्ने बताइन् । उनले काठमाण्डौको काठमाडौंस्थित बालमैत्री अस्पताल महाराजगञ्ज , शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल टेकु लगाएतका अस्पतालहरुमा स्वास्थ्य परिक्षणका क्रममा डेंगु संक्रमण देखिएको बताइन् । उनले डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने बताइन् । घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमलाजस्ता ठाउँहरूमा पानी जम्न नदिनु नै डेंगुबाट बच्न सकिने उपाय भएको उनको भनाई छ । उनले ६२ जिल्लामा फैलिएको डेंगु रोगको संक्रमण रामेछाप जिल्लाका पनि ११ जनामा देखिएकाले सावधानी अपनाउन जिल्लावासीलाई अनुरोध गरिन् । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख प्रेम बहादुर खड्काले डेंगु रोगको संक्रमण हुन नदिनका लागि जिल्ला समन्वय समिति रामेछाप जस्तो सुकै समन्वय गर्न तयार रहेको बताए । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले मन्थली नगरपालिकाको १४ वटै वडामा डेंगु ज्वरो नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रम लैजाने बताए । रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले रामेछापका सवै स्थानीय तहहरुमा डेंगु ज्वरो सम्बन्धी चेतनामुलक कार्यक्रम लैजानुपर्नेमा जोड दिइन् । जिल्ला प्रहरी कार्यालय रोछापका प्रमुख डि.एस.पी सन्तोष कुमार भट्राइले डेंगु ज्वरो नियन्त्रण सम्बन्धी चेतनामूलक कार्यक्रम गाउँगाउँमा लैजानका लागि प्रहरी साझेदारी कार्यक्रमले समन्वय गर्ने बताए । रामेछापको ८ वटै स्थानीय तह र ६४ वटा वडामा डेंगु ज्वरो नियन्त्रण सम्बन्धी विशेष अभियान मार्फत डेंगु नियन्त्रणमा लाग्नुपर्ने कार्यक्रमका सहभागिहरुले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस