काठमाडौं :- रेडियो नेपालमा धर्ना बसेका ९ जना पत्रकार पक्राउ परेका छन् । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका कर्मचारीलाई पुनर्बहाली गर्न माग गर्दै रेडियो नेपाल पुगेका ९ जना पत्रकार पक्राउ परेका हुन् ।
उनीहरुलाई प्रहरीले सिंहदरबारमा रहेको रेडियो नेपाल अगाडिबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसी, यम बिरही, मीन बम, योगेन्द्र बलायर रहेका छन् । त्यस्तै, प्रदेश प्रसारण कार्यालय डोटीबाट निष्कासन पत्रकार प्रकाश बम, चक्र कुँवर र दिलिप पौडेल पनि पक्राम परेका छन् ।
उनीहरुले श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको मागसमेत राख्दै रेडियो नेपालमा नाराबाजी गरेका थिए । उनीहरुलाई प्रहरीले नेपाल पुलिस क्लवमा राखेको छ ।
रेडियो नेपालमा रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि कार्यरत थिए । उनीहरुलाई रेडियो नेपालले विना कारण निष्कासन गरेको थियो ।