शाहीलाई प्रहरीले लियो हिरासतमा

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा लिएको छ ।

नेपालगञ्ज विमानस्थलमा मन्त्री भट्टराईमाथि शनिबार भएको दुर्व्यवहारबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथि उल्टै हातपात भएपछि सुरक्षाको कारण देखाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

तर, प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ पक्राउ पुर्जी थमाएको छ । पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी टेकबहादुर राईले अनलाइनखबरसँग भने, ‘पर्यटन मन्त्रीलाई शनिबार नेपालगञ्ज विमानस्थलमा अभद्र व्यवहार गरेको सम्बन्धमा अनुसन्धान गर्न शाहीविरुद्ध पक्राउ पुर्जी जारी गरेर हिरासतमा राखेका छौं ।’

कसको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइयो भन्नेबारेमा भने प्रहरीले केही खुलाएको छैन ।

शाहीलगायतका युवाले गत शनिबार मन्त्री योगेश भट्टराईका कारण नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरको विमान उड्न १ घण्टा ढिला भएको भन्दै विमानभित्रै गालीगलौज गरेका थिए ।

तर, गालीगलौजका क्रममा संयम देखिएका भट्टराईले विमान उड्न निर्धारित समयभन्दा १५ मिनेट ढिला भएको प्रष्टीकरण दिएका छन् र त्यसप्रति माफी पनि मागेका छन् । बुद्ध एयरले पनि शाहीको समूहले दाबी गरेजस्तो १ घण्टा नभएर १५ मिनेट मात्रै उडान ढिलो भएको जनाएको छ ।

घटनालाई लिएर सामाजिक सञ्जाल तातिरहेका बेला प्रहरीले शाहीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । स्रोतका अनुसार, शाहीलाई अभद्र व्यवहार कसूरसँगै गैरसैनिक हवाई उडान (सिभिल एभियसन) ऐन २०१५ विपरीत कसूर गरेको अभियोगमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस