काठमाडौं : नेपालगञ्ज विमानस्थलमा जहाजभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईमाथि भएको दुर्व्यवहारप्रति सचिवालयले ध्यानाकर्षण भएको बताएको छ। आइतबार साँझ स्वकीय सचिव प्रेम गुरागाईले विज्ञप्ति सार्वजनिक गर्दै विमानभित्रै मन्त्रीमाथि भएको दुर्व्यवहाले विचलित नहुने उल्लेख गरेका छन्।
‘जिन्दगीभर स्वतन्त्रता र लोकतन्त्र प्राप्तिका निम्ति लडेकाहरुलाई कसैले लोकतन्त्रप्रतिको निष्ठालाई सम्झाई राख्नु सर्बथा गलत हुन्छ। कसैको पनि आलोचना र सुझाव हाम्रो लागि सधैं स्वागतयोग्य छ। तर, पछिल्लो समयमा आफ्नो सिंहासन गुमेपछि विक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संबिधान बिरोधी हर्कतहरु जारी राखेका छन्। यसप्रति सचेत रहन सबै लोकतान्त्रिक शक्तिहरुसँग अपिल समेत गर्दछौं’, गुरागाईंले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्ता ‘मण्डले प्रवृत्ति’को विरोध र धम्कीले रत्तिभर बिचलित नभई ‘समृद्ध नेपाल : सुखी नेपाली’ को महान् उद्देश्य प्राप्तिका निम्ति अविचलित रुपमा लागिरहने प्रतिबद्धता समेत व्यक्त गर्दछौं।’
शनिबार साँझ मन्त्री भट्टराईसँग जहाजभित्रै यात्रुहरू आक्रोशित बनेको तर भट्टराई चुपचाप बसेको भिडियो सोसल मिडियामा भाइरल बनेको थियो। भिडियोमा यात्रुहरू मन्त्रीले जहाज ढिला गराइदिएको भन्दै भट्टराईसँग रिसाएका छन्। ‘एक घण्टासम्म प्लेन रोक्ने ? कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो ?’, भिडियो खिच्दै गरेका व्यक्ति आक्रोशित हुँदै मन्त्रीलाई सोध्छन्, ‘टाइमको ख्याल राख्नुपर्छ कि पर्दैन?’ यो समूहको नेतृत्व ज्ञानेन्द्र शाहीले गरेको देखिन्छ।