दुई तिहाइ बहुमतको कम्युनिष्टको सरकार संविधानलाई कुल्चिदै हिँडेको छ: सभापति देउवा

दाङ :- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा कांग्रेसमाथि भएको आक्रमण प्रजातन्त्रमाथिकै आक्रमण भएको बताएका छन्।

नेपाल प्रेस युनियन दाङ शाखाले शनिबार बिहान तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने,‘बाँकेमा कांग्रेसमाथि आक्रमण भएको छ। सभापति किरण कोइरालासहित धेरै घाइते हुनुहुन्छ। यो आक्रमण प्रजातन्त्रमाथिकै आक्रमण हो।’

सभापति देउवाले सरकार लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हिँडिरहेको आरोप लगाए। ‘दुई तिहाइ बहुमतको कम्युनिष्टको सरकार संविधानलाई कुल्चिदै हिँडेको छ। लोकतान्त्रिक मूल्य मान्यताविपरीत काम गरिरहेको छ। यो काम नरोकिए कांग्रेस आन्दोलनमा उत्रिन्छ,’ उनले भने।

देउवाले सरकार र नेकपा सच्चिएर अघि नबढे आन्दोलन गर्ने चेतावनी दिए। ‘सरकार सच्चिएर अघि बढ्न मानेन भने हामी आन्दोलनमा उत्रिन्छौं,’ उनले भने,‘सडक र सदन दुवै ठाउँबाट संघर्ष सुरु हुन्छ। तपाईँहरु तयार हुनुस्।’

देउवाले लोकतन्त्रमाथिको प्रहार कांग्रेसलाई कुनै पनि हालतमा सैह्य नहुने बताए। देउवाले बाँके घटनाका दोषीलाई कारवाही नभए सदन चल्न नसक्ने बताए।
‘घटनाका दोषीमाथि कारवाही भएन भने सदन चल्न दिँदैनौं,’उनले भने।

फरक प्रसंगमा देउवाले राजतन्त्र फर्किने कल्पना पनि नगर्न आग्रह गरे। पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै देउवाले भने,‘ठूलो संघर्षबाट हामीले राजतन्त्र फालेर मुलुकमा गणतन्त्र स्थापना गरेर संविधान नै जारी गरेका छौं। अब पनि कसैले राजतन्त्र फर्किन्छ भन्ने सोच्छ त्यो पूरा हुँदैन। कल्पनाभन्दा बाहिरको कुरा हो।’

प्रतिक्रिया दिनुहोस