सबैभन्दा बढी लुट्ने चितवन मेडिकल कलेज

चितवन :-   डेँगुको परीक्षणमा मनोमानी शुल्क लिइरहेका चितवनका अस्पतालहरुले स्क्रव टाइफस जाँचमा समेत मनोमानी शुल्क लिने गरेका छन् । स्क्रव टाइफस जाँचका लागि चाहिने कीटको मूल्य ५९० रुपैयाँ रहे पनि यहाँका अस्पतालहरुले भने बिरामीबाट चर्को शुल्क असुल्ने गरेका छन् । ‘हामीले बेच्ने अधिकतम मूल्य भनेको ५९० हो’ केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियसनका केन्द्रीय सदस्य महेश भट्टराईले भने ।

कीटलाई ५९० भनिए पनि परीक्षणको क्रममा निजी अस्पतालहरुले तीन हजार रुपैयाँसम्म लिएको पाइएको छ । खरिद मूल्यको पाँच गुणा बढाएर निजी अस्पतालले बिरामीबाट शुल्क उठाइरहेका छन् । स्क्रव टाइफस जाँचमा सबै भन्दा बढी शुल्क चितवन मेडिकल कलेजले लिने गरेको छ । सधै विवादमा मुछिने चितवन मेडिकल कलेजले शिक्षा क्षेत्रमा समेत अवैध शुल्क असुल्दै आएका छन् ।

चितवन मेडिकल कलेजले स्क्रव टाइफस जाँचका लागि सर्बैभन्दा बढी तीन हजार रुपैयाँ लिने गरेको छ । यस्तै नारायणी सामुदायिक हस्पिटलले दुई हजार ६ सय रुपैयाँ लिने गरेको छ । अस्पताल मध्येको सबै भन्दा कम शुल्क श्री पुष्पाञ्जली अस्पतालले लिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस