बिद्यार्थीले बेलुकी आठ बजेपछी सार्वजनिक यातायातमा किन पाउदैन छुट ?

काठमाण्डाै: सवारीमा विद्यार्थीलाई तोकिएअनुसार भाडामा छुटको व्यवस्था छ । तर, उक्त व्यवस्था देखाउने दाँतजस्तो मात्र भएको छ । बिहीबार साँझ करिब ७ः३० बजे । काठमाणड ब्यस्त बजार नयाँ बानेश्वरचोकमा बस तथा माइक्राेबसहरुको भीडभाड थियो । त्यही भीडमा पुरानो बसपार्कबाट ठिमी जाने एउटा माइक्रो पनि यात्रु पर्खिंदै थियो ।
कोटेश्वर, जटिबुटी, कौशलटार, गठ्ठाघर, ठिमी भन्दै चिच्याउँदै माइक्रोबसका सहचालक यात्रु डाकिरहेका थिए । पुरानो बसपार्क बाटै सिट भरिएर आएका उक्त माइक्रोमा नयाँ बनोश्वरचोकमा आइपुग्दा यात्रु खचाखच भरीसकेको थियो । तर पनी उक्त माईक्रो गन्तव्यका लागि अगाडि बढेन । सिटमा बस्ने र उभिने यात्रुले भरिएको माइक्रोभित्र हपक्क गर्मी । उभिएका र बसेका यात्रु पनि पसिनाले भिजेका थिए । छिप्पिँदो साँझमा यात्रुलाई घर जाने चटारो । तर, सिट भरिइसक्दा पनि सहचालकले यात्रु बोलाइरहे । उनी भन्दै थिए–सिट खाली, सिट खाली । आउनुस आउनुस साँझ ७ः५० सम्म उभिने यात्रु टन्नै भए । चालकले सहचालकलाई ‘जाने हो ? भनेर सिटबाटै सोधे । सहचालकले जवाफ दिए–अब एकछिन बसौं । आठ बज्यो । सहचालक बसको खुड्किलोमा उक्लिए । ढोकामा बसेर भने–ल ल सबै जना मिलेर बसौं, अब जाने । अनि उनले थपे–आठ बजेपछि कार्ड छुट हुन्न है,उनले यतिञ्जेल बस रोक्नुको रहस्य बल्ल खुल्यो । खचाखच यात्रुले भरिएको माईक्रो सवा आठ बजे नयाँ बानेश्वरबाट हिँड्यो । माइक्रोमा चढेका सबै यात्रु प्रायः भक्तपुर तर्फै जाने थिए । त्यसैले उनले कसैको पनी माडा उठाएका थिएनन् । माइक्रो कोटेश्वर पुगेपछि थप यात्रु बसमा कोच्चिए । केही यात्रु ओर्लिए । ओर्लीने केही बिद्यार्थी पनी थिए । उनिहरुले नियम अनुसार सहचालकलाई विद्यार्थी कार्ड र भाडा सँगै दिए । रिसाउँदै सहचालकले भने–साढे आठ भइसक्यो, अघि नै भनेको होइन, आठ बजेपछि कार्ड छुट हुन्न भनेर ? विद्यार्थीहरु चुपचाप थप पैसा दिएर बाटो लागे । उक्त यात्रामा विद्यार्थी, अशक्त, ज्येष्ठ नागरिक कसैले पनि कार्डबाट छुट पाएनन् । यो त एउटा प्रतिनिधि घटनामात्र हो । सामान्यतयाः काठमाण्डौ उपत्याकामा साँझ परेपछी सार्वजनिक यातायातमा कार्ड छुट पाइदैन । सामान्यत: काठमाडौं उपत्यकाको रुटमा सार्वजनिक सवारी प्रयोग गर्दा कार्ड छुटपछि तिर्नुपर्ने भाडा दश रुपैयाँ हो । विद्यार्थी, अशक्त, बृद्ध एवं जनआन्दोलनका घाइतेलगायतले परिचयपत्रका आधारमा बस तथा माइक्रोमा न्यूनतम भाडा दश रुपैयाँ तिर्दै आएका छन् । बसका सहचालकले दश रुपैयाँ तिर्ने यस्ता यात्रुलाई ‘दशको माल’ भन्दा रहेछन् । यातायात व्यवस्था विभागको निर्देशिका अनुसार विद्यार्थी, अशक्त, बृद्ध र जनआन्दोलनका घाइतेलगायतलाई दिइने छुटसम्बन्धमा कुनै समय सीमा छैन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथका निमित्त प्रमुख एसपी रविकुमार पौड्यालका अनुसार यात्रु लिएर गुडेको हरेक सार्वजनिक सवारीमा कार्ड छुट लागू हुन्छ । ‘यति बज्यो कार्ड छुट हुन्न कसैले भन्छ भने त्यो गलत हो,’ एसपी पौड्यालले भने, ‘कसैले छुट दिन मानेन भने ट्राफिक प्रहरीलाई तत्काल जानकारी गराउँदा हुन्छ । एसपी पौड्यालका अनुसार यातायात व्यवस्था ऐनअनुसार रुट परमिट पाएर सञ्चालनमा आएका यात्रुवाहक सवारीले आफूखुशी समय तोकेर कार्ड चल्ने नचल्ने घोषणा गर्न पाउँदैनन् । ट्राफिक प्रहरीका अनुसार यात्रुलाई सहुलियत छुट नदिने बसलाई प्रत्येक गल्तीमा पाँच सय रुपियाँ जरिवाना गर्ने कानुनी आधार छ । आफूहरु अन्यायमा परेको जानकारी ट्राफिकलाई गराए लापरबाही शीर्षकमा सवारीचालकलाई कारबाही गरिने प्रहरी बताउँछ ।
सार्वजनिक सवारीमा दिँइदै आइएको छुटसम्बन्धमा बाध्यकारी कानुन नभएको र यसलाई व्यावसायीले व्यवहारिक रुपमा प्रदान गरेको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाको दाबी छ । सरकारले पनि व्यावसायीलाई छुट दिने र सोबापत व्यावसायीले यस्ता छुट गर्ने प्रचलन रहे पनि सरकारले व्यावसायीले दिने छुट कटौती गरेको सिटौलाले बताए ।
‘रुट इजाजत, वार्षिक कर र जाँच पासमा पाउँदै इएको छुट सरकारले कटौटी गरे पनि व्यवसायीले छुट दिन छाडेका छैनन्’ उनले भने, ‘तर हामीले छुट दिन्नौं भने पनि कारबाही गर्न सरकारको कानुनी हैसियत छैन । तर, सार्वजनिक सवारी जतिबेलासम्म चल्छन् त्यति बेलासम्म तोकिएको छुट कार्यान्वयन गर्नुपर्ने यातायात व्यवस्था विभागको निर्देशिकामा प्रष्ट भनिएको छ । ट्राफिक प्रहरीका अनुसार यात्रुलाई सहुलियत छुट नदिने बसलाई प्रत्येक गल्तीमा पाँच सय रुपैयाँ जरिवाना गर्ने कानुनी आधार छ । आफूहरु अन्यायमा परेको जानकारी ट्राफिकलाई गराएको खण्डमा लापरवाही शीर्षकमा सवारी चालकलाई कारवाही गरिने एसपी पौड्यालले बताए । बसका यात्रुलाई चालक तथा सहचालकले कुनै पनि प्रकारका दुर्व्यवहार गर्न नपाइने भन्दै त्यस्तो भए तुरुन्त नजिकको सिभिल प्रहरी वा ट्राफिक प्रहरीलाई जानकारी गराउन पनि एसपी पौड्यालले बताए ।

प्रतिक्रिया दिनुहोस