जेठ १, रोल्पा । दाङ-सल्यान हुँदै रोल्पा र सल्यानको सिमाना झ्याम डाँडासम्म शारदा यातायात सेवा प्रालिले बस संचालन गरेको छ ।
यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै बैशाख २९ गतेबाट नै नियमित सेवा दिनेगरि बस संचालन गरेको हो ।
दाङ-तुलसीपुर सल्यान कपुरकोट, श्रीनगर, मोख्ला, दमाचौर हुँदै झ्याम डाँडासम्म यातायात सेवा सुरु गरेको सारदा यातायात सेवा प्रालिका उपाध्यक्ष कर्ण बहादुर बस्नेतले पोष्टपाटीलाई जानकारी दिए ।
उपध्यक्ष बस्नेतले भने- ‘अब बस नियमित गुड्छ, आज बस जान लागेको ४ दिन भैसक्यो, त्यसको लागि हामीले सबै प्रक्रिया मिलाइसकेका छौ, राप्ति यातायात व्यवसायी समिति र नमस्ते राप्ति यातायात प्रालीसंग हामीहरुले छलफल गरेर नै त्यस रुटमा बस संचालन गरेका हौ ।’,
दाङको तुलसीपुर बसपार्कबाट बिहान १० बजे छुट्ने र झ्याम डाँडाबाट बिहान ८ बजे बस छुट्ने शारदा यातायात सेवा प्रालि झ्याम डाँडा काउन्टरका कर्मचारी हिम राज बस्नेतले जानकारी दिए ।
अहिले शारदा यातायातको बस संचालन भएपछि सथानीयहरु खुशी भएको र यात्रुहरुलाई पनि यात्रा गर्न सहज भएको बस्नेतले बताए ।
रोल्पा झ्याम, मनिमारे, बडाढुंगा, नाउली, कुकुरगारे र सल्यान बुराँसे, दहखोला र दमाचौर लगायतका यात्रुहरु कोचाकोच गरेर यात्रा गर्नुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।
अब नियमित बस संचालन हुनेभएपछि बिशेषगरि चाडपर्वकाबेला गन्तव्यमा पुग्न ४/५ दिन कुर्नुपर्ने अवस्थाबाट मुक्त भएको बस्नेतले जानकारी दिए ।
यस अघि पनि स्थानीयको तिब्र बिरोधपछि सल्यान रुकुम यातायातले श्रीनगरबाट दमाचौर आउने बसलाई झ्याम डाँडासम्म संचालन गरेपनि त्यसले निरन्तरता पाउन सकेको थिएन ।
यात्रुहरु नपाउने र गाडी रित्तै आउने-जाने हुँदा तेल खर्च पनि नउठेको गुनासो गर्दै बस नियमित संचालन गर्न नसकेको सल्यान रुकुम यातयात व्यवसायी समितिले बताउदै आएको थियो ।