चितवन:- चितवनको भरतपुर अस्पतालमा आइतबार हालसम्मकै बढी बिरामीले बहिरङ्ग सेवामा टिकट काटेका छन् ।
उक्त दिन एक हजार ९२२ बिरामी अस्पताल आएकामा ९०० भन्दा बढी मेडिकल विभागका रहेका थिए । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मेडिकल विभागका लागि टिकट काटेकामध्ये अधिकांश ज्वरोका बिरामी थिए । तीमध्ये धेरैलाई डेङ्गु र केहीलाई इन्फ्लुएन्जा भएको पौडेलले जानकारी दिनुभयो ।
नयाँ ९०० र पुराना ३०० भन्दा बढी बिरामी अस्पताल आएपछि चिकित्सकले सबै बिरामी हेर्न नसकेको अस्पतालले जनाएको छ । बाँकी रहेका करीब १०० लाई सोमबार पहिलो प्राथमिकतामा राखेर परीक्षण गरिएको छ ।
सामान्य समयमा ४५० हाराहारी नयाँ र १५० पुराना हेर्दै आएकोमा एकाएक दोब्बरभन्दा बढी बिरामी थपिएकाले चिकित्सकहरुलाई पनि विरामी जाँच्न हम्मेहम्मे परेको छ ।