वीरगञ्जको गण्डकदेखि मितेरीपुलसम्म ६ लेनको सडक निर्माण हुने

राजेन्द्र सिंह /वीरगन्ज:- वीरगञ्जको गण्डकदेखि मितेरीपुलसम्म ६ लेनको सडक निर्माण हुने भएको छ । व्यापारीक मार्ग आयोजनाले निर्माण गर्ने अख्तियारी पाएपछि सडक केन्द्रदेखि दायाँबायाँ २५/२५ मिटर छठ पर्वसम्ममा हटाउन अन्तिम सुचना प्रकाशित गरेको छ ।

आयोजनाले यो खण्डको मार्गमा दायाँबायाँ २५ मिटर भित्र पर्ने २९ सरकारी कार्यालय, प्रहरी कार्यालय, विद्यालय, बैंक र संघ सस्ंथालाई अतिक्रमित भाग हटाउन पत्र पठाएको छ ।

छठसम्ममा अतिक्रमित हिस्सा स्वयमले नहटाए प्रशासनको सहयोगले हटाउने तयारी गर्दै चिनो लगाउने र लगत संकलन गर्ने कार्य सुरु गरिसकेको आयोजनाका इन्जिनियर अशोक कुमार रायले जानकारी दिनुभयो ।

सडक बिस्तार नहुँदा दैनिक आवातजावत गर्ने पैदल यात्रुदेखि सवारीचालकहरुले सास्ती भोग्दै आएका छन् । अव्यवस्थित सडकका कारण दैनिक जसो हुने सडक दुघर्टना तथा घण्टौँ सम्मको जामले स्थानीय तथा यात्रुहरु आजित भएका छन् ।

सडक निर्माणको लागि बाधा बनेको सडकको दायाँबायाँको अतिक्रमण हटाउन वीरगन्ज महानगरपालिकाले पनि सहयोग गर्ने महानगरका निमित्त कार्यकारिणी प्रमुख अरुण कुमार महतोले जानकारी दिनुभयो ।

सडक फराकिलो गर्नलाई धेरै घर तथा जग्गाहरु पर्ने भएकाले केहीले यस सडक निर्माणको विरोध पनि गरेका छन् । सडक फराकिलो गर्नु हुन्न भन्नेहरुको एक समूहले वीरगंज बचाउँ समिति नै निर्माण गरि यसको बिरोधमा जाने बताएका छन् । बाटोको बिकल्प धेरै रहेकोले ६ लेनको आवश्यकता नरहेको संघर्ष समितिको भनाई छ ।

यता सडक विस्तारमा पर्ने कति कार्यालयहरुले पत्राचार पश्चात विकल्पका खोजी पनि गरेका छन् । तिहारसम्ममा अधिकाँस कार्यालयहरुको स्थानान्तरण हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस