रामेछाप : रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाको नवनिर्मीत भवनको उद्घाटन गरीएको छ । उक्त भवनको प्रदेश नं ३ का आर्थिक तथा योजना मन्त्री कैलाश ढुङगेलले टोकरपुरको थामचौरमा एक कार्यक्रमका बिच रिवन काटेर २५ कोठे भवन उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगलले रामेछाप जिल्लामा विकास निर्माणको कामले गति लिएको बताए। उनले विकास निर्माणको काममा बजेटको अभाव हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री ढुंगेलले जिल्लाको मुख्य सडकहरुलाई कालोपत्रे गर्ने कार्यक्रमलाई उच्च प्राथमिकता राखेको बतााए ।
मन्थली–गाल्वा–चौरीखोला जोडन सडक कालोपत्रे गर्न यस बर्ष चार करोड रुपैयाँ अतिरित्त बजेट विनियोजन गरेको उनले सुनाए ।उनले डडुवा–गाल्वा सडकलाई पनि कालोपत्रे गर्ने योजनाभित्र समावेश गरेको घोषणा गरे । रामेछापबासीले अब केहि बर्ष भित्रै आफ्नै जिल्लामा केबलकार चढ्न पाउने उनले बताए।
गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कृशला घिसिङ ,जिल्लाका अन्य स्थानिय तहका प्रमुख, राजनैतिक दल, पत्रकार, स्थानिय लगायतको उपस्थीती रहेको थियो । उक्त भवन निर्माणमा १ करोड ७८ लाख रुपैयाँ खर्च भएको गाँउपालिकाले जनाएको छ ।