प्रहरीबाटै कुटिए कन्टेनर चालक,डीएसपी भन्छन्- प्रहरी दोषी देखिए कारबाही गर्छौं (भिडियोसहित)

टिमुरे सडकमा अव्यवस्थित ढंगले राखिएका सवारी हटाउन पुगेको प्रहरीले सामान्य विवादका क्रममा कुटपिट गरेको खुले पनि असई र हवल्दारको पहिचान प्रहरीले गोप्य राखेको छ ।

भिडियोमा दुई प्रहरीले अश्लील गाली गर्दै, भुत्ल्याँदै लात्ती र मुक्का हानेर चालकलाई लडाएको देखिन्छ । चालकमाथि प्रहरीको ज्यादतिपछि प्रत्यक्षदर्शीले त्यसो नगर्न आग्रह गरे पनि उल्टै प्रहरीले धम्याएका छन् ।

‘यसरी कुटपिट गर्न मिल्छ ? ड्राइभरको इज्जत छैन र भन्या ?’ एक प्रत्यक्षदर्शीले प्रहरीलाई सुझाउँछन् । तर, चालकले सुरुमा गल्ती गरेको जिकिर गर्दै प्रहरीहरु लात्ती र मुक्का बर्साइरहन्छन् ।

भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरी रवैयालाई लिएर यसको आलोचना भएको छ । ट्यांकर चालकहरूले घटनाको विरोधमा बुधबार सवारी आवागमन बन्द गराउने चेतावनी दिएका छन् ।

यसबारे जानकारी लिन रसुवा प्रहरी प्रमुख भोगेन्द्र पुरुष ढकालसँग सम्पर्क गर्दा उनले अव्यवस्थित गाडी हटाउन प्रहरीले आग्रह गर्दा घटना भएको र यसमा चालक स्वयं जिम्मेवार रहेको दाबी गरे ।

साँघुरो सडकमा अव्यवस्थित रूपमा राखेको गाडी हटाउन आग्रह गर्दै पुगेको प्रहरीलाई चालक तामाङले हात छाडेपछि घटना भएको उनको भनाइ छ । ‘प्रहरीले सडकमा राखिएको सवारी हटाउन गरेको आग्रहमा चालक तामाङले प्रहरीमाथि नै हात छाडेपछि घटना भएको हो’, घटनामा प्रहरी जिम्मेवार नभएको दाबी गर्दै उनले नेपालयनखबरसँग भने ।

यद्यपि, उनले यसबारे अनुसन्धान थालेको र प्रहरी दोषी देखिए कारबाही गर्ने प्रतिबद्धता जनाए । ‘घटनापछि हामीले प्रहरी र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं । यसबारे एक समिति पनि बनाउँछौं । अनुसन्धानबाट प्रहरी दोषी देखिए कारबाही गर्छौं,’ डीएसपी ढकालले भने ।

सामाजिक सञ्जालमा भिडियोलाई लिएर आलोचना भइरहेका बेला उनले सार्वजनिक भिडियोको दृष्य सुरुको नभएर अन्तिमको भएको जिकिर गरे ।

प्रहरीलाई कानूनको रक्षक मानिन्छ । कानून हातमा नलिई कानूनको रक्षा गर्नुपर्ने भए पनि प्रहरीको कार्यशैली बेलाबेला आलोचित हुने गरेको छ । यसअघि पनि गोंगबुमा एक असहाय व्यक्तिलाई प्रहरीले यसैगरी निर्घात कुटेको भिडियो सार्वजनिक भएको थियो ।

जिप्रकाले निकाल्यो विज्ञप्ति

गोसाइकुण्ड नगरपालिका २ स्थित टिमुरेमा प्रहरीले चालकमाथि गरेको कुटपिट प्रकरणमा जिल्ला प्रहरी कार्यालय रसुवाले एक विज्ञप्ति जारी गरेको छ। चालकमाथि प्रहरीबाट भएको कुटपिट प्रकरणमा ध्यानाकर्षण भएको जिल्ला प्रहरी कार्यालय रसुवाले विज्ञप्तिमा उल्लेख छ।

उक्त विषयमा कार्यालयबाट थप छानविन गरिने र दोषमिाथि नियमानुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। सोमबार प्रहरी र चालकबीच गाडी ब्याक गर्ने विषयमा विवाद हुँदा दुई जना प्रहरीले एक चालकलाइ मसातेर लछार पछार गर्दै कुटपिट गरेका थिए।

प्रतिक्रिया दिनुहोस