तुल्सिपुरमा सुरु भयो मेट्राेकलेज

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट सुरु भएको छ । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन थालेको कलेजमा यो वर्ष वन विज्ञानको तिन वर्षे कार्यक्रम सञ्चालन हुन थालेको शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले बताए । कार्यक्रम सञ्चालनको सबै प्रक्रिया पुरा भएको छ, अब हामीले भर्ना कार्यक्रमलाई अगाडि बढाउन थालेका छौ’ प्रमुख गौतमले भने । उनले अन्य प्राविधिक शिक्षालय भन्दा सहुलियत दरमा विद्यार्थीलाई गराउने उद्देश्यले शिक्षालय सञ्चालन गरिएको पनि बताए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रले यो वर्ष ४० जना विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको छ । कलेजले असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाएको पनि प्रमुख गौतमले बताए । यसैबिच कलेज सञ्चालनको तयारीका लागि सञ्चालक समिति अध्यक्ष एवम् तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बैठक बसेर भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैठकले गरेको निर्णय अनुसार कलेजमा अध्ययन गर्ने नगरवासीलाई ५० प्रतिशत शैक्षिक शुल्कमा छुट दिइनेछ । यसैगरी बैठकले पशुपति मावि हरीपौरीका विद्यार्थी, उत्कृष्ट अंक ल्याउने विद्यार्थी र सहिद परिवार, द्वन्द्वपीडित, मुक्त कमैया र विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिने निर्णय गरेको छ । कलेज सञ्चालनका लागि वडा नम्वर १२ को हरिपौरीमा सम्पूणै भौतिक संरचना निर्माण भइसकेको छ । पहिलो चरणमा विभिन्न कलेजबाट प्रवेश परीक्षा पास गरेका विद्यार्थीहरुलाई भर्ना गरिने र दोस्रो चरणमा पुनः प्रवेश परीक्षा लिइने पनि कलेजले जानकारी दिएको छ । बैठकमा प्रमुख प्रशासकीय अधिकृत आनन्द सारु, कलेज सञ्चालक समिति सदस्य भिष्म केसी, भागवत पौडेल, रुद्र डाँगी, सुर्यवहादुर डाँगी, शम्भु रेग्मी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस