समाज रुपान्तरणको अर्को पाटो रन्जिता जसले दिईन सचिव पदमा उमेदवारी

लन्डन । व्यापार र पारिवारिक दायित्व एकसाथ वहन गरेर पनि सामुदायिक काममा निरन्तर लाग्ने महिला अभियन्ता हुन् रन्जिता मल्ल । यतिखेर उनलाई  अर्को व्यस्तता थपिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको आउंदो महिना हुने निर्वाचनमा सचिव (महिला) पदमा उम्मेदवारी घोषणा गरेपछि रन्जिता प्रचार प्रसारमा व्यस्त भएकी हुन् । ‘अहिले आफ्ना एजेन्डासहित मतदातासंग मत मागिरहेकी छु’, उनले भनिन्,’म एक महिला भएको नाताले आफू जस्ता महिलाहरुको दुःख, पीडा पक्कै हेर्नेछु । सामाजिक काममा आफ्नो सक्रियता अझ बढाउने छु । त्यसकारण मलाई यो पटक नेतृत्वमा जाने अवसर दिनुहोस् ।’

नेपालीको बाक्लो जनघनत्व रहेको अल्डरसट बस्छिन् उनी । रसमोर क्षेत्रलाई प्रतिनिधित्व गर्ने ग्रेटर रसमुर नेपाली कम्युनिटीको उपाध्यक्ष भएर रन्जिताले उल्लेख्य काम गरेकी छन् । नेपाली र बेलायती समुदायबीच अन्तरघुलन, नेपाली कला संस्कृति प्रवर्धन र च्यारिटी कर्म सधैं उनको प्राथमिकतामा रहे । स्थानीय समुदायमात्र होइन, स्थानीय निकायका पदाधिकारीहरुसंग पनि निकट रहेकी रन्जिताले नेपालीले भोगेका दुःख, पीडा राम्ररी बुझेकी छन् र ति समस्या सम्बन्धित निकायसम्म पुरयाउन सक्षम महिलाका रुपमा पनि उनलाई हेरिन्छ ।

सन् २००८ देखि बेलायत बस्दै आएकी रन्जिताले छोटो समयमै नेपाली समुदायको मन जितिन् । पेशाले आइटी इन्जिनियर हुन् उनी तर सक्रियता हरेक क्षेत्रमा देखिन्छ । मल्ल विभिन्न च्यारिटी संघसंस्थामा संलग्न छन् । उनले महाभूकम्प गएको बेला गोर्खा, लमजुङ, काभ्रेपलान्चोक, नुवाकोट, धादिङ लगायत जिल्लामा संघका पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा राहत वितरण कार्यमा सकृय भूमिका निर्वाह गरेकी थिइन् । उनी अध्यक्षकी सशक्त प्रत्यासी पुनम गुरुङको क्याम्पमा छन् । उक्त समूहमा रोजिनाप्रधान राई, प्रसुना कंडेल लगायत प्रभावशाली महिलाहरुको वाहुल्य छ ।

प्रतिक्रिया दिनुहोस