नेपाललाई दक्षिण एशियाकै पहिलो राष्ट्रको रुपमा खुल्ला दिशामुक्त घोषणा गरिने : मन्त्री मगर

२०७६,दोलखा
मुना गुरुङ

नेपाललाई दक्षिण एशियाकै पहिलो राष्ट्रको रुपमा खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी भइरहेको खानेपानीतथा सरसफाई मन्त्री बिना मगरले बताउनुभएको छ ।

दोलखा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न सदरमुकाम चरिकोट आउनुभएकी मन्त्री मगरले नेपालको सबै जिल्ला असोज महिना भित्र खुल्ला दिशामुक्त जिल्ला घोषणा गरी दक्षिण एशियाकै पहिलो राष्ट्रको रुपमा चिनाउने गरि तयारी भइरहेको बताउनुभयो ।

उक्त कार्यका लागी खानेपानी तथा सरसफाई मन्त्रालय र मातहतको निकाय प्रत्यक्ष लागीपरेको उहाँको भनाई छ । राष्ट्रलाई खुल्ला दिशामुक्त घोषणा साथसाथै पुर्ण सरसफाईयुक्त राष्ट्र घोषणाका लागी समेत कार्य भइरहेको बताउनुभयो ।यसैबिच खुल्ला दिशामुक्त घोषणाको लागि आवश्यक पर्ने सुचकहरु पुरागर्दै दोलखा जिल्लालाई आज खुल्ला दिशामुक्त घोषणा गरिएको छ । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले नेपालको ६७ औ जिल्लाको रुपमा दोलखा जिल्लालाई खुल्ला दिशामुक्त भएको प्रमाणपत्र जिल्ला स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिकाप्रमुख डबल पाण्डेलाई हस्तान्तरण गर्दै घोषणा गरिएको हो । कार्यक्रममा जिल्ला स्तरीय खानेपानी सरसफाई स्वच्छता समन्वय समितिका प्रमुख एवम् जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले जिल्लामा शौचालय निर्माण र प्रयोगको अवस्थाका विषयमा जानकारी गराउनुभएको थियो । पाण्डेले जिल्लाका ९ वटा स्थानीयतहमा रहेका ४५ हजार ६ सय ५८ घरधुरीमा अनिवार्य शौचालय निर्माण गरिएको बताउनुभयो । उहाँले उक्त घरधुरीका १ लाख ८५ हजार ९९ व्यक्तिले शौचालय प्रयोग गर्ने गरेको र शौचालय निर्माण गर्नुपर्ने घरको अवस्था शुन्य रहेको बताउनुभयो । कार्यक्रममा दोलखा जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न सहयोग गरेको भन्दै दुई नगरपालिका सहित७ वटा गाउँपालिकालाई सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस