प्रतिष्ठानका रजिष्ट्रारमाथि हातपात गर्नेलाई कारबाही गर्न सांसदको माग

दाङ :– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको हातपातको विषयमा संसदमा कुरा उठेको छ। राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले रजिष्ट्रारमाथि हातपात गर्नेलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने बताएकी छिन्।

उनले भनिन्, ‘सत्तासीन पार्टीका कार्यकर्ताले नै रजिष्ट्रारमाथि कार्यस्थलमै गएर लछारपछार गर्दै हातपात गरेका छन्, अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गएर दादागिरी देखाउने प्रवृत्तिले समाज कता जाँदै छ भन्ने कुरा देखाउँछ।’

उनले राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानलाई अरु प्रतिष्ठानभन्दा कम बजेटमा किन खुम्च्याइएको भनेर प्रश्न समेत गरिन्।

त्यसैगरी प्रतिनिधि सभामा पनि यस विषयमा कुरा उठेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले उपकुलपति र रजिष्ट्रारलाई त्रासमा राखेको बताएकी छन्।

उनले भनिन्, ‘तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा प्रतिष्ठानमा उपकुलपतिको पदमा डा संगीता भण्डारी र रजिष्ट्रारको पदमा रामप्रसाद प्याकुरेलको नियुक्ति भएको तर २०७५ मा कम्युनिष्ट सरकारले बरखास्त गर्‍यो।’

बरखास्त नियम विपरीत भयो भनेर पुनर्वहाली भएपछि पनि कार्यकालको दुई वर्ष बाँकी रहँदा पनि नेकपाले काम गर्ने वातावरण नदिएको उनको भनाइ छ।

‘त्यहाँका सांसदले नै अस्पतालको परिसरमा पदाधिकारीलाई काम गर्न दिनु हुँदैन, कालोमोसो दल्नुपर्छ भन्ने जस्ता अभिव्यक्ति दिए,’ उनले भनिन्, ‘रजिष्ट्रारलाई लछारपछार गर्दै हानथाप गर्नेको विरुद्धमा किटानी जाहेरी गए पनि प्रहरीले कानुनी कठघरामा ल्याउन सकिरहेको छैन।’

वैधानिक रुपमा नियुक्त भएको व्यक्तिलाई त्रसित बनाएर राजिनामा दिन बाध्य बनाइएकोमा लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडिराखेको उनले बताइन्।

उनले दैनिक ४ सय ५० भन्दा बढी बिरामीले सेवा लिनेमा जनताको भविष्यमा खेलवाड गरिएको बताइन्।

प्रतिक्रिया दिनुहोस