रामेछाप : खोलाले बगाएर रामेछापमा एक महिलाको ज्यान गएको छ । रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं. ३ की वर्ष ५६ कि राधिका कार्कीलाई खोलाले बगाउदा उनको मृत्यु भएको हो । सोलुखुम्बु जिल्लावाट तिज मनाउन माइत रामेछाप आउँदै गरेकी छोरीलाई बीच बाटोसम्म लिन गएकी कार्कीको बुधबार साँझ खोलाले बगाउँदा ज्यान गएको हो ।मृतक कार्की सोलुखुम्बुको सगरडाँडाबाट माइत आउँदै गरेकी छोरीलाई लिनका लागि बीच बाटोसम्म गएकी थिईन् । बुधवार साँझपख परेको लगातार वर्षाका कारण कार्कीको घरभन्दा केही पर रहेको ठाडो खोलामा आएको बाढीले कार्कीलाई बगाएको थियो । निरन्तर पानी परिरहेको बेला बीचवाटोसम्म आफुलाई लिन आमा आउने खबर पाएकी छोरीले आमालाई पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन नसकेपछि घरमा खबर गरेकी थिईन् । घरपरिवारका सदस्यहरुले पनि राधिका घरमा नफर्किएको बताएपछि गाउँलेहरु मिलेर राधिकाको खोजीमा जुटेका थिए । स्थानीय बासीहरुले खोजी गर्दा बिहीबार बिहान मात्र राधिकाको शव बाटोदेखी झण्डै ६५ मिटर तल खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।