निजगढका उखु किसानहरु केरा खेतीतर्फ आकर्षित

बारा :- वर्षौंदेखि उखु खेती गर्दै आई रहेका बारा निजगढका उखु किसानहरु पछिल्लो समय केरा खेतीतर्फ आकर्षित भएका छन् । नगदे बालीको रुपमा हेरिने उखुको मूल्य चिनी मिलहरुले समयमा भुक्तानी नदिई किसानहरुलाई झुलाएर दुखः दिन थालेपछि किसानहरु उखुको विकल्पका रुपमा केरा खेतीतर्फ आकर्षित भएका हुन् ।

तीन चार दशक अघिदेखि उखु खेती गरिँदै आएको निजगढमा पछिल्लो एक दुई वर्ष यता करिब ९० प्रतिशत भु–भागमा केरा खेती हुन थालेको छ । व्यापारीहरुले किसानहरु कै खेतबारी र घरघरै पुगेर नगद भुक्तानीमा आफ्ना उत्पादन उठाई दिने र उखुमा भन्दा केरामा मुनाफा पनि बढी हुने हुँदा अहिले निजगढका किसानहरुको केरा खेती पहिलो रोजाईमा परेको छ । फागुन चैत्र महिनाबाट उत्पादन सुरु भई असोजसम्म उत्पादन दिने केरा खेतीबाट प्रति कठ्ठा वार्षिक ५० देखि ६० हजारसम्म आम्दानी हुने किसानहरु बताउँछन् । नौं कठ्ठामा केरा खेती गरेकी रेश्मा लामाले फागुन चैत्र महिनाबाट उत्पादन सुरु भई असोज सम्म उत्पादन दिने र प्रति हप्ता ३० देखि ४० हजारसम्मको केरा घरैबाट बिक्री हुने बताउनु हुन्छ ।

उखु खेती गर्दै आएका किसानहरुलाई चिनी मिलले समयमा पर्याप्त भुक्तानी नदिएकाले लामो समयदेखि उखु खेती गर्दै आएको निजगढमा किसानहरु केरा खेतीतर्फ आकर्षित भएको अर्का किसान भरत खड्काको भनाई छ।

यता निजगढ नगरपालिकका प्रमुख सुरेश कुमार खनालले नेपाल सरकारले केरा खेतीमा दिएको २५ प्रतिशत विमा सुबिधाबाट बाँकी रहेको २५ प्रतिशतलाई नगरपालिकाबाट विमा सुबिधा उपलव्ध गराउने निर्णय भईसकेको जानकारी दिनुभयो । केरा खेतीबाटै निजगढमा बार्षिक वार्षिक २५ देखि ३० करोड रुपैयाँ निजगढ भित्रने गरेको मेयर खनालले बताउनु भयो ।

मालभोग केराको पकेट क्षेत्र मानिएको यस निजगढलाई सरकारले केरा जोनको रुपमा विकास गरी कृषि अनुदानमा सहजीकरण गर्न सके यहाँका किसानहरुको जिवन स्तरमा सुधार आउने विश्वास गरिएको छ । स्रोत माउन्टेन टेलिभिजन

प्रतिक्रिया दिनुहोस