मुख्यमन्त्री कप प्रदेश ५ लिगमा बाँके र रुपन्देही बिजयि

दाङ  :-  तुलसीपुर उपमहानगरपालिकाकाे बेलझुण्डीस्थित रंगशालामा जारी प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको छैठौंं दिन मंगलबार भएको खेलमा बाँके र रुपन्देहीले जीत दर्ता गरेका छन् । जारी लिगमा बाँकले अपराजित यात्रा कायम राखेकाे छ ।

मंगलबार भएको खेलमा बाँकेले बर्दियालाई ३-१ गोलले पराजित गर्दा रूपन्देहीले दाङलार्ई १-० को संघर्षपूर्ण जीत निकाल्दै हरायो । अपरान्ह भएको खेलमा रुपन्देहीले लगातार जीत निकाल्दै लिगको अन्तिम चारमा पुग्ने सम्भावना जीवितैै राखेको छ ।

निकै प्रतिष्पर्धात्मक खेलमा दाङलाई रुपन्देहीले झिनो अन्तरले हराए पछि दाङको ४ खेलमध्ये २ मा जीत र २ मा हार भएको छ । रुपन्देहीलाई जीत दिलाउन जर्सी नम्बर ७ का निसान सुनारले पहिलो हाफको अतिरिक्त समयमा गोल गरे । उनको एक गोल नै निर्णायक बन्यो ।
यस्तै, मंगलबार बिहान बाँके र बर्दिया बीच भएको खेलमा बाँके अब्बल सावित भयो । बाँकेका जर्सी नम्बर १० का विक्रम ठकुरीले एक्लै ३ गोलसहित ह्याट्रिक पूरा गर्दै टीमलाई जिताए । उनले खेलको पहिलो हाफमा सबै गोल गरेका थिए । उनले खेलको २५औं, ३७औं, र ४३औं मिनेटमा लगातार गोल गरेका हुन् । बाँके विरुद्ध उत्रिएको बर्दियाले भने १ गोल मात्रै गर्न सक्यो । बर्दियाका जर्सी नम्बर ६ का ठागु चौधरीले दोश्रो हाफको ६५औं मिनेटमा सान्त्वना गोल गरे । जारी लिगमा बाँके एक मात्रै अपराजित टीम बनेको छ । उसले खेलेको खेलमा एक खेल बराबरी भएपनि अरु खेलमा जीत निकालेको छ ।
अब बुधबार लिगको सातौं दिन पनि दुई खेल हुने छन् । बुधबार बिहान नवलपरासी र बाँके बीच खेल हुनेछ भने अपरान्ह रोल्पा र रुपन्देही बीच खेल हुने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस