मुख्यमन्त्री कप प्रदेश लिगमा दाङ र रुपन्देहीको जीत

दाङ  :- तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीस्थित रंगशालामा जारी प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको पाँचौें दिन सोमबार भएको खेलमा दाङ र रुपन्देही विजयी भएका छन् ।

सोमबार भएको खेलमा दाङले रोल्पालाई २-० गोलले पाखा लगाउँदा रूपन्देहीले नवलपरासीलाई २-१ ले हरायाे । अपरान्ह भएको खेलमा दाङले लगातार जीत निकाल्दै लिगको अन्तिम चारमा पुग्ने सम्भावना जीवितैै राखेको छ । लिगको पहिलो खेलमा नवलपरासीसँग नराम्रो हार व्यहोरेको दाङले त्यसपछिको खेलमा लय पक्रेको छ । सोमबारको खेलमा रोल्पा विरुद्ध जीत दिलाउन दाङका जर्सी नम्बर ९ का गणेश नेपालीले खेलको १५औं मिनेटका उत्कृष्ट गोल गर्दै टीमलाई अग्रता दिलाए । यस्तै खेलमा थपिएको अतिरिक्त समयमा जर्सी नम्बर १४ का किरण योगीले अर्को एक गोल गर्दै दाङलाई २-० को सहज जीत दिलाए । खेल वर्षाले प्रभावित भएपछि दाङ र रोल्पा बीचको खेल ९० मिनेटबाट ६० मिनेटमा झारिएको थियो ।

यस्तै, सोमबार बिहान रुपन्देही र नवलपरासी बीच भएको खेलमा रुपन्देहीले नवलपरासीलाई २-१ गोल अन्तरले पराजित गर्यो । रुपन्देहीको जीतमा जर्सी नम्बर ७ का पूर्णबहादुर श्रेष्ठले ३५औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । नवलपरासीले डिबक्समा गरेको गल्तीमा श्रेष्ठले पेनाल्टी मार्फत गोल गरेका थिए ।

दोश्रो हाफको ५६औं मिनेटमा रुपन्देहीकै जर्सी नम्बर ११ का विश्व थापाले अर्को एक गोल गर्दै नवलपरासीसँगको अग्रता दोब्बर पारे । खेलको ८५औं मिनेटमा नवलपरासीका जर्सी नम्बर ४ का प्रदीप चौधरीले जवाफी गोल फर्काए पनि जीतका लागि पर्याप्त हुन सकेन । जारी लिगमा नवलपरासीको यो पहिलो हार हो भने रुपन्देहीले लगातार दुई खेलमा जीत निकालेको छ ।

अब मंगलबार लिगको छैठौं दिन पनि दुई खेल हुने छन् । मंगलबार बिहान बाँके र बर्दिया बीच खेल हुनेछ भने अपरान्ह दाङ र रुपन्देही बीच खेल हुनेछ । जारी लिगमा दाङ र रुपन्देहीको अंक बराबरी रहेकाले मंगलबार हुने दुई टीम बीचको खेललाई अत्यन्तै महत्वका साथ लिइएको छ । दुवै टीमले मंगलबार जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् । दाङले पछिल्ला खेलमा गरेको उत्कृष्ट प्रदर्शनका कारण मंगलबारको खेलमा उच्च मनोबलका साथ मैदानमा उत्रँदा रुपन्देहीको लक्ष्य पनि जीत निकाल्नु नै रहनेछ ।

प्रतिक्रिया दिनुहोस