लिखु तामाकोसी गाउँपपालिकामा जनप्रतिनिधिबीचको द्वन्द्वले कामकाज नै ठप्प

रामेछापको लिखु तामाकोसी गाउँपालिकाका जनप्रतिनिधिबीचको आन्तरिक द्वन्द्वका कारण त्यहाँको कामकाजै ठप्प भएको छ । आन्तरिक द्वन्द्वका कारण तीन सातादेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नबस्दा विकास निर्माण लगायत अन्य सेवासुविधा प्रभावित हुँदा त्यहाँका जनताले सास्ती भोग्नु परेको हो । गाउँपालिका अध्यक्ष गोविन्द खड्का, उपाध्यक्ष दीपशिखा दाहाल र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राई कार्यालय नगएका कारण विकास निर्माण लगायत सर्वसाधरणको काम प्रभावित भएको स्थानीय हेमन्त पौडेलले बताए । गत साउन १६ गते भएको कार्यपालिका बैठकमा अध्यक्ष खड्काले पेश गरेको विद्युतीकरणको विलको रकम भुक्तानीको विषयमा ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यले असहमति जनाएपछि विवाद सुरु भएको हो । वडा( १ को दुरागाउँमा गरिएको विद्युतीकरण कार्यका लागि ६ करोड रुपैयाँ भुक्तानी माग गरेका थिए । तर, कार्यपालिका सदस्यहरुले त्यसको एकपटक अनुगमन समितिले अनुगमन पछि मात्रै भुक्तानी दिनु पर्ने प्रस्ताव राखेका थिए । अनुगमनको कुरा उठाएपछि गाउँपालिका अध्यक्षले बैठकमै आक्रमणको प्रयास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत राई सोही दिन कार्यालय छाडेर हिँडेका थिए । बैठकमा प्रुमख प्रशासकिय अधिकृत राई र वडा(७ का अध्यक्ष सुवास बोहोरालाई कुर्सीले आक्रमण गर्न खोजेको भन्दै कार्यपालिका बैठक रोकिएको थियो । कार्यपालिका बैठक रोकिएपछि गाउँपालिका उपाध्यक्ष दाहाल र प्रमुख प्रशासकीय अधिकृत राई कार्यालयमा गाएका छैनन् ।अध्यक्षबाट असुरक्षित भएको भन्दै कार्यालय नगएको उनीहरु बताउँछन् । प्रमुख प्रशासकीय अधिकृत राइले त आफू असुरक्षित भएको भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा निवेदन नै दर्ता गराएका छन् ।
आन्तरिक विवादपछि काठमाडौं गएका गाउँपालिका अध्यक्ष खड्का पनि गाउँ फर्किएका छैनन् । खड्कालाई धम्क्याउँदै २ करोड रुपैयाँ माग गरेको आरोपमा प्रहरीले साउन २४ गते काठमाडौंको स्वयम्भुबाट सोही गाउापालिका(७ का विजय लामा र अमृत तामाङलाई गोली हानी पक्राउ गरेको थियो । घटनामा वडा अध्यक्ष बोहरा र उपाध्यक्ष दाहालको समेत हात रहेकोले आफू असुरक्षित भएका भन्दै गाउँपालिका अध्यक्ष खड्का पनि गाउँ नफर्किएको बताउँछन् । गाउँपालिका अध्यक्ष खड्काले उपाध्यक्ष दाहाल, वडा ७ का अध्यक्ष बोहरा र नेकपाका नेता धु्रव कार्की्विरुद्ध किटानी जाहेरी नै दिएका छन् ।विद्युतीकरणको क्रममा १२ करोड रुपैयाँभन्दा बढी खर्च भएको भन्दै अध्यक्ष खड्काले गत वर्ष विनियोजन गरेको ५ करोड ९० लाख रकमबाट थप ६ करोड रुपैयाँ अपुग भएकोले रकम छुट्याउन गाउँसभामा प्रस्ताव लगेपछि विवाद भएको थियो । विवादको क्रममा अध्यक्ष खड्काले आक्रमणको प्रयास गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत राई, उपाध्यक्ष दाहाल र ६ जना वडा अध्यक्षसहित १० जना कार्यपालिका सदस्यले साउन १७ गते पत्रकार सम्मेलन गरेका थिए । सो गाउँपालिकामा ७ वटा वडा रहेका छन् । यसै बिच दुरागाउँमा विस्तार गरिएको विद्युतीकरणबारे विवाद उत्पन्न भएपछि जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गरेको छ । अनुगमनको क्रममा विद्युतीकरणमा प्रयोग भएका सामाग्रीको गुणस्तर राम्रो पाइएको अनुगमन समितिले जनाएको छ । तर, प्रयोग गरिएको सामानको परिमाणमा भने समितिले शंका गर्दै गाडिएको विद्युतको पोल गनिने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेतृत्वको प्राविधिक सहितको टोलीले सोमबार विद्युतीकरणका क्रममा गाडिएको पोलका बारेमा जानकारी लिने नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण केन्द्रका प्रमुख विनोद अधिकारीले बताए । अनुगमनपछि मात्रै गाडिएको पोल र त्यसमा प्रयोग भएको तारको खर्चबारे वास्तविकता पत्ता लाग्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस