मुख्यमन्त्री कप प्रदेश लिगमा बाँके र रोल्पा बराबरी- बर्दिया विरुद्ध दाङ २-१ ले विजयी

तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीस्थित रंगशालामा जारी प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिताको चौथो दिन आइतबार भएको खेलमा बाँके र रोल्पाले बराबरी खेल्दा दाङले संघर्षपूर्ण जीत निकालेको छ ।आइतबार बिहान बाँके र रोल्पाबीच भएको खेलमा दुवै टीमले समान २-२ गोल गरे । अपरान्ह दाङ र बर्दियाबीच भएको खेलमा दाङले २-१ को संघर्षपूर्ण जीत निकाल्यो । बिहान भएको खेल पहिलो हाफ गोलरहित हुँदा दोश्रो हाफमा भने दुवै टीमबाट कुल ४ गोल भयो । दोश्रो हाफमा खेल शुरुको ४६औं मिनेटमै रोल्पामा जर्सी नम्बर ७ का विजेन्द्र जिएमले गोल गर्दै टीमलाई अग्रता दिलाए । यस्तै, खेलको ५४औं मिनेटमा रोल्पाकै जर्सी नम्बर ६ का एरोज गैरेले अर्को एक गोल गर्दै टीमलाई २-० को स्थितिमा पुर्याए पनि त्यो स्थिति धेरै टिकेन ।रोल्पासँग २-० ले पछि परेको स्थितिमा बाँकेले उत्कृष्ट पुनरागमन गर्दै ५७औं मिनेटमा जर्सी नम्बर १७ का प्रविण सुनारले उत्कृष्ट गोल गर्दै टीमलाई लयमा फर्काएका थिए । यस्तै ब्याक टू ब्याक गोल गर्ने क्रममा खेलको ६०औं मिनेटमा जर्सी नम्बर ८ का विशाल थापाले रोल्पासँगको गोल संख्या बराबरीमा पुर्याए । बाँकेसँगको अग्रता जोगाउन नसक्दा रोल्पाले बराबरी खेल्दै अंक बाँड्यो । यस्तै, आइतबार अपरान्ह भएको अर्को खेल निकै प्रतिष्पर्धात्मक भएको थियो । दाङले प्रतियोगिताको पहिलाे जीत निकाल्ने क्रममा बर्दियासँग निकै संघर्ष गर्नुपर्यो । पहिलो हाफको ३४औं मिनेटमा दाङका जर्सी नम्बर ७ का अभिषेक वलीले बर्दिया विरुद्ध गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए । यस्तै दोश्रो हाफको ६०औं मिनेटमा दाङका जर्सी नम्बर ९ का गणेश नेपालीले अर्को गोल थपे । खेलको ७६औं मिनेटमा बर्दियाका जर्सी नम्बर ७ का शम्भु थारुले उत्कृष्ट गोल गर्दै टीमलाई बराबरीमा फर्काउने सम्भावना बढाए पनि खेल अवधिभर थप गोल गर्न नसक्दा दाङले २-१ को जीत निकाल्यो । अब सोमबार प्रतियोगिताको पाँचौं दिन पनि दुई खेल हुने छन् । सोमबार बिहान नवलपरासी र रुपन्देही बीच खेल हुनेछ भने अपरान्ह दाङ र रोल्पा बीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस