खाँदबारी नगरपालिकामा बाँदरआतंक

काठमाडौं :-   सदरमुकामसमेत रहेको खाँदबारी नगरपालिका क्षेत्रमै बाँदरले दुःख दिन थालेको छ । नगरका ११ वटै वडामा बाँदरले आतंक मच्चाउन थालेको गुनासो स्थानीयले गरेका छन् । विशेषगरी, वडा नम्बर १, २, ३, ४, ५, ८, ९ र ११ मा बाँदर आतंक बढेको खाँदबारी–८ का स्थानीयवासी उमेश श्रेष्ठले बताए । ‘बाँदरले अन्नबाली खानै नदिने भयो,’ श्रेष्ठले भने, ‘कलिलै अवस्थामा बाँदरले अन्नबालीमा ठूलो क्षति गर्न थालेको छ ।’

वडा नम्बर ४ को जौखरीय, ढाडगाउँ, टारलीगाउँ, बरुवालगाउँ, पांमा, भोटेबाँस, निभारे र भाङखर्क लगायतका क्षेत्रमा बाँदर हुल बाँधेर बस्ने गरेका स्थानीय हर्कबहादुर गुरुङले बताए ।

‘वरिपरिको जंगलबाट आउने बाँदरले बारीको कोदो, मकै र फलफूलमा निकै क्षति पुर्‍याउन थालेको छन्,’ उनले भने, ‘केही वर्ष अघिसम्म चार–पाँच मुरी मकै फल्ने बारीमा यस वर्ष दुई पाथी पनि मकै फल्ने अवस्था छैन ।’

बाँदरले घोगा लागेका मकैका बोट लडाएर पसारो पारेको उनले बताए । कुकुरसहित रात–दिन गोठालो लाग्दा पनि बाँदरले नोक्सान गर्न नछाडेको गुनासो उनको छ । बाँदरले बर्खामा मकै र हिउँदमा धान, सुन्तला, फलफूल, तरकारी, अलैँची, अम्रिसोलगायत बालीमा नोक्सान पुर्‍याउने गरेको छ ।

वर्ष दिन खापुग्ने बाली बाँदरले एकै दिनमा सिध्याउने गरेको किसानले बताए । खाँदबारी बजार क्षेत्रकै किसान पनि बाँदरबाट पीडित छन् । बाँदर मान्छेसँगसमेत नडराउँदा बालीनाली जोगाउनै मुस्किल पर्न थालेको गुरुङले बताए ।

 बाँदरपीडित बसाइँ सर्दै 
केही वर्षअघिसम्म खाँदबारी नगरपालिका क्षेत्रका केही जंगलमा मात्रै बाँदर देखिन्थे । प्रायः बाँदर जंगलतिरै बस्थे । तर, पछिल्ला २/३ वर्षयता खाँदबारी नगरपालिका क्षेत्रका सबैजसो गाउँबस्तीसम्म बाँदर पुगेका छन् । बाँदरले सताएपछि कतिपय परिवार बसाइँसमेत सरेका छन् । धेरै परिवार बसाइँ सर्दा बाँझिएको जग्गाजमिनका कारण पनि बाँदरको बाँसस्थान झन् बढेको सेकाहाका हेमकुमार गुरुङले बताए ।

आहाराको खोजीमा गाउँ छिरे बाँदर
‘पहिले–पहिले ढाडेभिरमा मात्रै बाँदर बस्थे । भिरमा बर्सेनि डढेलो लाग्दा  बाँदरले खान पाएनन् र गाउँपासेका हुन्,’ सेकाहाका हेमकुमार गुरुङले भने । पहिले–पहिले बाँदरऔल (बेसी) क्षेत्रमा मात्रै बस्ने गर्थे । लेकाली क्षेत्रमा बाँदर पाइँदैनथे । तर, हिजोआज सबैतिर बाँदरले एकसाथ प्रभाव जमाएको देखिन्छ । ‘ढाँडेभिरमा नेपाली सेनाले तालिमको क्रममा गोला बारुद्ध  पड्काउँदा पनि बाँदर त्रसित भएर गाउँ पसेका हुन सक्छन्,’ गुरुङले भने ।

प्रतिक्रिया दिनुहोस