रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले बजार अनुगमन कार्यलाई प्राथमिकताका साथ अगाडी बढाएको छ । गाउँपालिकाले पालिका भित्र रहेका बजार क्षेत्रहरुमा संचालीत खाद्यान्न , किराना , होटल लगाएतको अनुगमन गर्ने कार्यालाई जोड दिएको छ । गाउँपालिकाकी उपाध्यक्ष एवं उपभोक्ताहित संरक्षण समितिकी संयोजक मखमली श्रेष्ठको नेतृत्वको अनुगमन टोलीले सोमबार गाल्वा बजारको अनुगमन गरेको छ ।
गाउँपालिकामा रहेको विभिन्न ७ निकायका प्रतिनिधिहरु र पत्रकार सहितको अनुगमन टोलीले गाल्वा बजारमा संचालनमा रहेका पसलहरु दर्ता , नविकरण , पसलमा मुल्य सूचि रहे नरहेको अनुगमन गरेको हो । अनुगमनको क्रममा पसलहरुले मुल्यसूचि नराखेको , आवश्यक प्रक्रियानै पुरा नगरी व्यवसाय संचालन गरेको र केहि पसलहरुमा मापडण्ड अनुसारको नापतौल सामाग्री समेत नभएको पाइएकाले तत्काल सच्याउँन आवश्यक निर्देशन दिइएको अनुगमन टोलीकी संयोजक एवं गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले बताइन् । अनुगमनका क्रममा सावुन लगाएतका केही समाग्रीहरु म्याद गुज्रीएको भेटिएको र त्यसलाई अनुगमन टोलीले जफत गरेको छ ।