अढाई करोड खर्च, समस्या उस्तै

कञ्चनपुर :-   छाडा चौपायाले पूर्व–पश्चिम राजमार्गमा गाडी चलाउनै मुस्किल भएको छ । छाडा चौपायका कारण राजमार्गको गड्डाचौकी–गुलरिया खण्डमा सर्वसाधारणलाई हिँडडुल गर्नसमेत अप्ठ्यारो भएको छ ।

छाडा चौपाया राति स्थानीय बासिन्दाको खेतबारीमा जाने गरेका छन् । बिहानै किसानले खेतबारीबाट धपाउँदा राजमार्गमै फर्किने गरेका छन् । जसले गर्दा गाडी चलाउनै समस्या भएको यातायात व्यवसायीले बताएका छन् ।

राजमार्ग क्षेत्रमा रहेका चौपायाका कारण आवतजावत गर्न समस्या भएको स्थानीय बासिन्दा शिवराज भट्टले बताए । यसले मोटरसाइकलचालकलाई जोखिम बढेको उनले गुनासो गरे । ‘गाडी चलाउँदा कतिखेर कुन पशुले सडक क्रस गर्ने हुन्, थाहै हुँदैन,’ भट्टले भने, ‘कतिपटक त मोटरसाइकल ठोकिन्छन् ।’

सार्वजनिक सवारीसाधनका चालकले पनि छाडा पशुका कारण दुर्घटना निम्तिएको बताएका छन् । चालक पदम जोशीले राजमार्गमा रहेका पशुका कारण गाडी चिप्लिने डर हुने गरेको बताए । ‘सडकभरि गोबर हुन्छ, त्यसमा कुनै पशु सडकमा आइहाले पनि ब्रेक लगाउँदा चिप्लिन्छ,’ उनले भने । जोखिम मोलेर गाडी चलाउनु परिरहेको उनले बताए । छाडा चौपायाले गर्दा राजमार्गमा दुर्घटना निम्त्याइरहेको उनको भनाइ छ ।

अढाई करोड खर्च, समस्या उस्तै
कञ्चनपुरका ६ स्थानीय तहले छाडा पशुचौपाया व्यवस्थापनका लागि अढाई करोड खर्च गरिसकेका छन् । तर, समस्या जस्ताको त्यस्तै छ । स्थानीय तहले गत आर्थिक वर्षमा छाडा पशुचौपाया नियन्त्रणका लागि बजेट विनियोजन गरेका थिए ।

गत वर्ष ६ स्थानीय तहको दुई करोड ५४ लाख ५० हजार खर्च भएको देखिएको छ । महाकाली नगरपालिकाले १० लाख, शुक्लाफाँटा नगरपालिकाले ४० लाख खर्च गरेको थियो । त्यस्तै, भीमदत्त नगरपालिकाले एक करोड, वेदकोट नगरपालिकाले ४० लाख, कृष्णपुर नगरपालिकाले २८ लाख र बेलडाँडी गाउँपालिकाले १० लाख रुपैयाँ खर्च गरेका थिए ।

भीमदत्त नगरपालिका–१५ गोबरैयाका खेमराज ऐरीले छाडा चौपायाको समस्या उस्तै रहेको बताए । धानखेती जोगाउनका लागि रातभर कुरुवा बस्नुपरिरहेको उनको भनाइ छ । ‘धान खेती नगर्दा खाली खेतमा एक पशु चौपाया आउँदैन्थे । धानखेती लगाएपछि रातिराति बथानका बथान पशु खेतमा आउँछन् । धान खाएर सखाप पार्छन्,’ उनले भने । स्थानीय तहले रकम खर्च गरेको भए पनि समस्या समाधान भएको उनको भनाइ छ ।

व्यवस्थापन हुँदै गरेको दाबी
यहाँका स्थानीय तहले छाडा पशु व्यवस्थापन भइरहेको जनाएका छन् । महाकाली, भीमदत्त, वेदकोट, शुक्लाफाँटा, कृष्णपुर र बेलडाँडीका स्थानीय सरकारले विगतका तुलनामा अहिले व्यवस्थापन भइरहेको दाबी गरेका छन् ।

भीमदत्त नगरपालिकाले ब्रह्मदेव र बागफाँटामा पशु व्यवस्थापनका लागि खोर निर्माण गरेको छ । वेदकोट नगरपालिकाले हात्तीथलामा निर्माण गरेको गोठ जंगली हात्तीले भत्काएको छ । बेलडाँडी गाउँपालिकाले झिलमिलामा गोठ निर्माण गरेको छ । शुक्लाफाँटा नगरपालिकाले राजमार्ग क्षेत्रकै दीपनगरमा निर्माण गरेको गोठ वडा नं. ८ सारिएको छ । कृष्णपुर नगरपालिकाले वडा नं. ६ मा गोठ निर्माण गरेको जनाएको छ ।

वेदकोटका प्रवक्ता नरेश सिंहले छाडा चौपाया व्यवस्थापनमा अथक प्रयास भइरहेको बताए । जंगली हात्तीले गोठ भत्काएपछि त्यहाँ रहेका छाडा चौपाया भागेको उनको भनाइ छ ।

परमादेशको अवज्ञा
स्थानीय सरकारलाई छाडा चौपाया व्यवस्थापन गर्न गत वर्ष दिपायल उच्च अदालतले परमादेश जारी गरेको थियो । अधिवक्ता गजेन्द्रबहादुर रावलले दायर गरेको रिटमाथि दिपायल उच्च अदालतको महेन्द्रनगर इजलासका न्यायाधीशद्वय पवनकुमार शर्मा र धीरबहादुर चन्दको संयुक्त इजलासले परमादेश जारी गरेको थियो । परमादेशमा महेन्द्र राजमार्गसँगै जोडिएका चार स्थानीय तह र तिनका २० वडाध्यक्षलाई तत्काल छाडा चौपाया व्यवस्थापन गर्न निर्देशन दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस