‘प्रदेश २ को स्थायी राजधानी जनकपुर,असोजभित्र नै सहमति गरेर पारित गरिने

काठमाण्डौ : प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर नै हुने भएको छ । प्रदेश सरकार गठन भएको झन्डै डेढ वर्षपछि प्रदेशको राजधानी जनकपुर नै राख्ने विषयमा सबै दलबीच सहमति जुटेको हो ।

हाल अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानी बनाउनेमा सबै दलबीच सहमति जुटिसकेको र प्रदेशको नामाकरण पनि चाँडै हुने प्रदेश २ का सामाजीक विकासमन्त्री नवलकिशोर साहले बताए ।

उनले यो प्रदेशको राजधानीको विषयमा सहमति जुटीसकेको र कानुनी रुप दिन मात्र बाँकी रहेको जानकारी दिए ।

नेपाली काँग्रेसका सांसद एवं संसदीय दलका उपनेता रामसरोज यादवले पनि प्रदेशको राजधानीका बारेमा लगभग दुई तिहाई सहमति पुगेको बताए । उनले प्रदेशको राजधानी जनकपुर नै राख्नेमा बहुमत जुटेको तर प्रदेशको नामाकरणमा सहमति जुट्न नसकेको बताए । प्रदेशको नामाकरणमा समय लागे पनि राजधानीको विषयमा असोजभित्र नै सहमति गरेर पारित गरिने उनको भनाइ छ ।

यसअघि प्रदेश सरकारले गत मंसिरमा राजधानी र प्रदेशको नामाकरणका लागि आयोग नै गठन गरेर सुझाव सङ्कलन गरेको थियो । ८ जिल्लाका नागरिकसँग सुझाव सङ्कलन गर्दा प्रदेशको राजधानी वीरगञ्ज र जनकपुरको नाम आएको थियो ।

प्रतिक्रिया दिनुहोस