मैले १० वर्षे जनयुद्धको नेतृत्व गरेँ, तर कसैलाई एक लबटो हानेको छैन:अध्यक्ष पुष्पकमल दाहाल

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हिंसा नगरेको दाबी गरेका छन्। शुक्रबार नेकपा नेता दीनानाथ शर्माको ‘झरीका सौन्दर्य’ निबन्धसङ्ग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो दाबी गरेका हुन्। उनले आफूले कसैलाई एक लबटो नहानेको र कसैको एक लबटो नखाएको बताए।

‘मैले १० वर्षे जनयुद्धको नेतृत्व गरेँ। तर कसैलाई एक लबटो हानेको छैन र खाको पनि छैन’, प्रचण्डले भने, ‘हुन त जनयुद्धको नेतृत्व गर्ने मान्छेले यसो भन्दा को पत्याउछ र ? म व्यक्तिगत रुपमा कुनै पनि हिंसात्मक गतिविधिमा सामेल भएको छैन। तर मेरो नेतृत्वमा भएको १० वर्षे जनयुद्धले देशमा ठूलो परिवर्तन आयो। यसको जिम्मेवारी म लिन्छु।’
प्रचण्डले आफू बाहिर देखिने भन्दा फरक र भावुक रहेको बताए। ‘म भावुक छु, सेन्टिमेन्टल पनि छु। अरुले देखेजस्तो छैन’, उनले भने म बडा सरल व्यक्ति हुँ।’

उनले आफू अर्धपागल भएर नै विद्रोहमा लागेको पनि बताए। ‘मैले युवा अवस्थामा धेरै साहित्यिक पुस्तक पढेँ। विकृतिकै कारण विद्रोही चेत आयो’, उनले भने। प्रचण्डले आफू विद्रोहमा अर्धपागल भएर लाग्नुमा साहित्यको देन भएको बताए।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यकार अर्धपागल  हुने बताए। ‘साहित्यकार अर्धपागल हुन्छन् भनिन्छ’, पौडेलले भने, ‘प्रचण्डजी पनि क्रान्ति गरेर आउनुभयो। उहाँ पनि अर्धपागल भएरै त क्रान्ति गर्नु भएको होला नि।’  पौडेलको यही भनाइप्रति टिप्पणी गर्दै प्रचण्डले उनको नाम नलिई आफू अर्धपागल भएर विद्रोहमा लागेको स्वीकार गरेका हुन्।

त्यस्तै प्रचण्डले देशको स्थिति उकास्नका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नु पर्नेमा जोड दिए। ‘देशको अहिलेको अवस्था उकास्नका लागि सबै राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्छ’, उनले भने, ‘जनताले खोजेको कुरा ल्याउन एकले अर्कोलाई आरोप लगाएर काम नगरौँ।’

कार्यक्रममा नेकपा वरिष्ठ नेता माधवकुमार नेपाल, संस्कृतिविद् सत्यमोहन जोशी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, निबन्धकार दीनानाथ शर्मालगायतले धारणा राखेका थिए।

प्रतिक्रिया दिनुहोस