धुम्बाराहीको केन्द्रिय कार्यालय तत्काल हटाउन नेकपालाई कांग्रेसको आग्रह

काठमाडौं:- प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारी जग्गा भोगचलनसम्बन्धि नियम विपरित धुम्बाराहीमा रहेको पार्टीको केन्द्रिय कार्यालय तत्काल हटाउन सत्तारुढ नेकपालाई आग्रह गरेको छ ।

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सत्तारुढ केन्द्रिय कार्यालय जग्गाको भोगचलन सम्बन्धि नियम विपरित रहेकोमा आपत्ति जनाउँदै तत्काल धुम्बाराहीबाट हटाउन नेकपालाई आग्रह गर्नु भएको हो ।

नीति, नियम र नैतिकताको पाठ पढाउने राजनीतिक दलको केन्द्रिय कार्यालय नियम विपरित भएको ठाउँबाट संचालन भईरहेकोमा आफ्नो पार्टीलाई लज्जित र दुःखित बनाएको पनि प्रवक्ता शर्माको भनाई छ । प्रवक्ता शर्माले नेकपाले सो कार्यालय त्यहाँ संचालन गरेर गम्भिर गल्ती गरेको दावी गर्दै क्षमतायाचना गर्नुपर्ने तर्क पनि गर्नु भयो ।

काँग्रेस प्रवक्ता शर्माले नेकपाले पार्टीको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणप्रति पनि आपत्ति जनाउनु भयो । उहाँले नेकपाले छपाईका लागि पठाएको राजनीतिक प्रतिवेदनमा आफ्नो पार्टीप्रति राखेको दृष्टिकोणमा दृष्टिदोष मात्रै रहेको उल्लेख गर्दै आपत्ति जनाउनु भएको हो ।

लोकतन्त्रका लागिसँगै लडेको राजनीतिक दलले आफ्नो दलप्रति त्यसरी दृष्टिकोणको नाममा दृष्टिदोष राखेको देखेर आफूलाई दया लागेको प्रवक्ता शर्माको प्रारम्भिक टिप्पणी छ । प्रवक्ता शर्माले नेकपाले आफ्नो पार्टीलाई हेर्ने दृष्टिकोणबारे पार्टीको केन्द्रिय कार्य समितिले आधिकारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि दिनु भयो ।

प्रतिक्रिया दिनुहोस