मंसिर १४ गते ५१ ठाउँमा उपनिर्वाचन हुँदै

काठमाडौं ।   उपनिर्वाचनको मिति तोकिएपछि निर्वाचन आयोगले तयारी थालेको छ। केन्द्रदेखि स्थानीय तहसम्मका खाली भएका स्थानमा आयोगले उपनिर्वाचन तयारी थालेको हो।  केहि दिन अघिमात्रै मिति तोकेपछि आयोगले देशभरका ५१ स्थानमा उपनिर्वाचनको तयारी थालेको हो। साउन १८ गते भोजपुर पौवा दुङ्‍मा गाउँपालिका-१ का वडाध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएपछि उपनिर्वाचन गर्नु पर्ने स्थानीय रिक्त संख्या ५१ पुगेको हो।

निर्वाचन आयोगले उपनिर्वाचनको तयारी तीव्र बनाएपछि स्थानीय तह हेर्ने मन्त्रालय  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहमा रिक्त रहेको विवरण तत्काल पठाउन परिपत्र जारी गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै सबै स्थानीय तहलाई रिक्त पदको विवरण मन्त्रालयमा पठाउन भनेको छ।

मन्त्रालयका अनुसार  उपनिर्वाचनका लागि ३९ वडाध्यक्षको पद खाली छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ४ जना खाली छ। त्यस्तै प्रदेश सभा सदस्यमा तीन जनाको पद खाली छ। प्रतिनिधी सभामा एक पद खाली छ भने उपमहानगरपालिका प्रमुखको एक पद प्रमुखविहीन छ।

नेकपाबाट सांसद बनेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते हेलिकोटर दुर्घटनामा निधन भएपछि प्रतिनिधिसभाअन्तर्गत कास्की क्षेत्र नम्बर २ को सांसद पद खाली छ। त्यस्तै, बाग्लुङ क्षेत्र नम्बर २ (ख) का सांसद टेकबहादुर घर्ती, भक्तपुर क्षेत्र नम्बर १ (क)का सांसद हरिशरण लामिछाने र दाङ क्षेत्र नम्बर ३ (ख)का सांसद उत्तरकुमार ओलीको निधन भएकाले प्रदेश सभाको ३ पद खाली छ। धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएपछि उपमहानगर प्रमुख पद पनि खाली छ। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्वाङ महोत्तरी पिपरा गाउँपालिकाका अध्यक्ष विनोद चौधरी, संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्गबहादुर कटुवालको निधन भएको छ। त्यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु हमाल शाहीको पनि निधन भएको छ।

सबैभन्दा धेरै रिक्त पद भने निर्वाचित जनप्रतिनिधिको निधनका कारण भएको छ। जसमध्ये ४३ पद जनप्रतिनिधिको मृत्यको कारण भएको छ। पाँचथरमा गाउँपालिका अध्यक्षसहित तीन पद खाली छ। सातजना वडाध्यक्षहरु जिल्ला समन्वय समितिमा गएर रिक्त भएका कारण खाली छ। जिससमा निर्वाचित भएका वडाध्यक्षहरुमा सप्तरी छिन्‍नमस्ता गाउँपालकिा-७ का वडाध्यक्ष प्रभाकर यादव, लमजुङ सुन्दर बजार नगरपालिका-२ वा वडाध्यक्ष जिल्ला समन्वय प्रमुखमा निर्वाचित भएपछि खाली छ। त्यस्तै बाग्लुङको बडिगाड गाउँपालिका-२ का वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिमा निर्वाचित भएका छन्। सल्यानको कुमाख गाउँपालिका-५ का वडाध्यक्ष हरिप्रकाश बुढाथोकी जिसस उपप्रमुखमा निर्वाचित भएका छन्। त्यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-३ का वडाध्यक्ष फैरु तामाङ जिसस प्रमुखमा निर्वाचित भएका छन्। एकजना जनप्रतिनिधlले भने राजिनामा दिएका छन्।

राजीनामा दिनेमा महोत्तरीको मटिहानी नगरपालिका-६ का वडाध्यक्ष सञ्जयकुमार मण्डल रहेका छन्।    निर्वाचन आयोगले आगामी मंसिर १४ गतेका लागि उपनिर्वाचन मिति तोकेसँगै मतदाता नामवालीमा नाम दर्ता गराउने काम पनि रोकिएको छ। यही साउन १६ गतेसम्म १८ वर्ष पूरा भएकाले उपनिर्वाचनमा मत हाल्न पाउनेछन्।  सरकारले आयोगको सिफारिस बमोजिम प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली भएका विभिन्‍न पदहरुमा मंसिर १४ गते उपनिर्वाचन गर्दैछ। आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार उपनिर्वाचनको मिति तोकिएको  दिन साउन १६ गते सम्ममा नाम दर्ता भई त्यही समयमा १८ वर्ष उमेर पूरा भएका मतदाताले भोट हाल्न पाउनेछन्।  आयोगले उपनिर्वाचन मिति घोषणा गरेपछि साउन १७ गतेदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा मतदाता नामवाली स्थगित गरिएको छ। आयोगले साउन १६ गतेसम्म दर्ता भएका विवरण अद्यावधिक गरी पठाउन सम्बन्धित जिल्लामा निर्वाचन कार्यालयलाई निर्देशन दिइसकेको खरेलले बताए।

प्रतिक्रिया दिनुहोस