डाक्टर क्षमता र अखिल नेता नरेशले गरे प्रगतिशील बिवाहा

काठमाडौं : माओवादी युद्धकालमा जनवादी विवाह भूमिगत रुपमै भए पनि प्रचलनमा थियो । संसदीय अभ्याससँगै माओवादी कमजोर बन्दैगयो, जनवादी विवाहको चलन पनि हराउँदै गयो ।

अचेल त जनवादी विवाह एकादेशको कथा जस्तै भएको छ । यतिसम्म कि, जनवादी विवाह प्रचलनमा ल्याउने नेताहरु नै आफ्ना सन्तानको विवाह पाँचतारे होटलमा भव्य रुपमा मनाउन थालेका छन् ।

सोमबार भने तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रगतिशील विवाहको तामझाम देखियो । विवाह कार्यक्रममा उपस्थित नेता–कार्यकर्ताहरु नै अचम्भित देखिन्थे । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा लगायत नेता–कार्यकर्ताको उपस्थितिमा प्रगतिशील विवाह सम्पन्न भएको हो ।

वेहुला थिए तत्कालिन माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय सचिव नरेश रेग्मी । सोही संगठनकी कार्यकर्ता डा.क्षमता सुवेदी वेहुली थिइन् । विवाह कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले युद्दकालमा हुने जनवादी विवाहको सम्झना गरेका थिए ।

‘हाम्रा अगाडि चुनौती छैनन् भन्ने होइन, संरचना अहिले पनि पूरानै छ, संरचनामा बस्नेको सोच पूरानै छ, सत्तामा बसेका नयाँ छौँ,’ प्रचण्डले भने, ‘जनआन्दोलन, जनयुद्धबाट प्राप्त परिवर्तनबाट आएका नयाँ मान्छे छौँ, सत्तामा बस्ने नयाँ र संरचनाका अवयवमा बस्ने पुरानै भएका कारण परिवर्तन सस्थागत गर्ने चुनौती छ ।’

प्रगतिशील रुपान्तरणका लागि सरकारबाटै नीति बनाएर नयाँ संस्कृति बनाउन सकिने समेत उनले बताए । गृहमन्त्री रामबहादुर थापा लगायत नेकपाका नेता कार्यकर्ताले पनि वरवधुलाई शुभकामना दिएका थिए ।

वरवधुका आफन्तका तर्फबाट विवाहका लागि खर्च हुने पैसा सामाजिक कार्यका लागि खर्च गरिने घोषणा पनि गरिएको छ । झापको दमक वहुमुखी क्याम्पसका जेहेन्दार विद्यार्थीका लागि ५० हजार, झापाकै अपा® संघलाई ५० हजार, झापाकै बालवृद्ध आश्रमका लागि ५० हजार, झापकै दमक अध्ययन केन्द्रलाई १० हजार र बराबरका पुस्तक र पब्लिक लाइब्रेरीलाई १० हजार बराबरका पुस्तक दिने घोषणा वरवधुका आफन्तले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस