दोलखाको शैलुङ गाउँपालिकामा ३६ घर पहिरोको उच्च जोखिममा

१६ साउन ,रामेछाप
पुष्कर खड्का
दोलखाको शैलुङ गाउँपालिका-१ ताम्चेत दूधपोखरीको विक टोलमा पहिरो जाँदा ३६ घर जोखिममा परेका छन् । गएको सोमबार दिउँसोको पहिरोले बम बहादुर विकको ढुङ्गा माटोले बनेको चार कोठे भुइँतले घरमा पूर्णरुपमा क्षति पुगेको छ । पहिरोले घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाडावर्तन गरी झण्डै आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ । त्यसैगरी मान बहादुर घतानीको ढुङ्गा माटोले बनेको चार कोठे भुइँतले घर पूर्णरुपमा क्षति भएको दोलखा प्रहरीले जनाएको छ । घर क्षति हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भडावर्तन गरी झण्डै सात लाख रुपैयाँ बराबरको क्षति भएको छ । घर पूर्णरुपमा क्षति भएपछि उनीहरु आफन्तकोमा बसिरहेको इलाका प्रहरी कार्यालय मागापौवाले जनाएको छ । पहिरोले विक टोलका मनकुमारी मगर, पदमलाल घतानी र मीनलाल घतानीकोे १३ रोपनी बारी पुरिएको छ भने ३६ घरका २ सय ५९ जना जोखिममा रहेको दोलखा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस