दोलखा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीका लागि सबस्टेसन निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ

१६ साउन,रामेछाप
पुष्कर खड्का
दोलखा : माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुलीका लागि सबस्टेसन निर्माणमा ठेकेदार कम्पनीले ढिलाइ गरेको छ। आयोजनाको लट–४ अन्तर्गतको भारतीय कम्पनी केईसी इन्टरनेसनल लिमिटेडले माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादित विद्युत् प्रसारणक गर्न आवश्यम सबस्टेसन निर्माणमा ढिला गरिरहेको हो।करिब ९८ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाबाट विद्युत् उत्पादन हुनुभन्दा दुई महिनाअघि निर्माण सम्पन्न गरेर पनि परीक्षण गरिसक्नुपर्ने हो। तर ठेकेदारले ढिलाइ गरिरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए।आयोजनाबाट उत्पादित चार सय ५६ मेगावाट विद्युत् सबस्टेसनमा जडान गरेर मात्र विभिन्न स्थानमा प्रसारण गर्न सकिन्छ। सबस्टेसनको निर्माणमा भइरहेको ढिलाइले आयोजनाबाट उत्पादित विद्युत् केही महिना खेर जाने भएको जानकार बताउँछन्। माथिल्लो तामाकोसीले ग्यास इन्सुलेटेड स्वीच (जीआईएस) प्रविधिबाट निर्माण गरिरहेको २२०/१३२ किलोभोल्ट क्षमताको सबस्टेसन यो नै नेपालको पहिलो हो। जीआईएस प्रविधिको सबस्टेसनमा सम्पूर्ण मेसिन तथा उपकरण घरभित्र लामो हलमा जडान गरी व्यवस्थित गरिन्छ। २०७३ पुसबाट रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३, फुलासीको १३९ रोपनी क्षेत्रफलमा निर्माणाधीन सबस्टेसनको लागत दुई अर्ब रुपैयाँ रहेको माथिल्लो तामाकोसी आयोजनाको इलेक्ट्रिकल महाशाखा प्रमुख पूर्णगोपाल रञ्जितले जानकारी दिए।ठेकेदार कम्पनी केईसी इन्टरनेसनलले सबस्टेसनको निर्माण २०७६ माघ मसान्तसम्म सक्नुपर्ने सम्झौतामा उल्लेख छ। सवस्टेसनका लागि चाहिने विभिन्न मेसिनको ढुवानी कार्य ६५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। निर्माणस्थलमा रहेका मेसिनको जडान कार्य भने करिब ३० प्रतिशतमात्र सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ। माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत् सो सबस्टेसनमा जडान गरी केही विद्युत् १३२ किलोभोल्टको खिम्ती–काठमाण्डौं प्रसारण लाइनमार्फत काठमाडौं पठाइने समेत योजना रहेको छ।केईसी इन्टरनेसनले नै निर्माण गरिरहेको २२०/१३२ केभीको डबल सर्किट प्रसारणलाइनको भने उल्लेख प्रगति हासिल गरेको महाशाखा प्रमुख रञ्जितले जानकारी दिए। लामाबगरको गोंगरखोलादेखि खिम्तीसम्मको ४७ किलोमिटर लामो प्रसारणलाइनको एक सय २७ वटा टावर निर्माण गरी ४१ किलोमिटर तार टाँग्ने कार्य सम्पन्न भइसकेको उनले जनाए। प्रसारणलाइन निर्माण कार्य करिब ९५ प्रतिशतभन्दा बढी सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस