रामेछापका गैरसरकारी संस्थाहरुको कागज मात्रै हैन कामको प्रभावकारीता हेरिने: समन्वय प्रमुख प्रेम बहादुर खड्का

रामेछाप। पुष्कर खड्का
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले अब गैर सरकारी संस्थाहरुले गरेको कामको प्रभावकारीता हेरिने बताएका छन् । केहि गैरसरकारी संस्थाहरुले गरेको काम कागजमा मात्रै राम्रो देखाउँने गरेकाले सवै गैरसरकारी संस्थाहरुको कामको प्रभावकारीता हेरिने समन्वय प्रमुख खड्काको भनाई छ । बुधबार जिल्लाको मातृशिशु स्वास्थ्य सुधारको सवालमा काम गरिरहेको वनहर्ट वल्डवाइज नामक संस्थाले गरेको कामको समिक्षिा कार्यक्रममा बोल्दै समन्वय प्रमुख खड्काले यस्तो बताएका हुन् ।
रामेछापकी प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी पाण्डेले गैरसरकारी संस्थाहरुले गर्ने काममा दिगोपना हुनेपर्ने बताइन् । उनले गैरसरकारी संस्थाहरुकोे काम कामका लागि मात्रै नभै प्रभावकारीता र दिगोपना हुनपर्ने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी केसीले अब गैरसरकारी संस्थाहरुले सफ्टवेयर वेशका कार्यक्रम भन्दा हार्डवेयर वेशका कार्यक्रम ल्याउँनुपर्ने बताइन् । उनले गैरसरकारी संस्थाहरुले राज्य पुग्न नसकेको ठाउँमा पुगेर राज्यको अभाव नहुनेगरी काम गर्नुपर्ने बताइन् । जिल्ला समन्वय अधिकारी राजेन्द्र कुमार केसीले स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरु बढि संवेदनशिल भएर काम गर्नुपर्ने बताए । जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा वनहर्ट वल्डवाइजका जिल्ला संयोजक हर्षराज दाहालले संस्थाले रामेछापमा ६ महिनाको अवधिमा गरेको कामका बारेमा जानकारी गराएका थिए ।
उनले ६ महिनाको अवधिमा तालिम ,प्रसुती केन्द्रलाई आवश्यक सामाग्री प्रदान , प्रसुती केन्द्र निर्माण , सर्भे र अन्तरक्रिया तथा परिचयात्मक लगाएतका कार्यक्रम गरिएको बताए । उनले अहिले दोरम्बा गाउँपालिकाको टोकरपुरमा एउटा प्रसुती केन्द्र निर्माणधिन अवस्थामा रहेको र लिखुतामाकोशी गाउँपालिकाको विजुलीकोटमा पनि प्रसुती केन्द्र निर्माण गर्ने कामको थालनीको तयारी भैरहेको बताए । उनले ६ महिनाको अवधीमा रामेछापको विभिन्न गाउँपालिका तथा नगरपालिकामा संचालनमा रहेका प्रसुती केन्द्रहरुलाई रु ८ लाख ३९ हजार रुपैया बराबरको सामाग्री प्रदान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस