पुष्कर खड्का ,रामेछाप
एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यम सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने प्रकृया सुरु गरेको छ।गत बैशाख २४ गते काठमाडौंमा बैंक, राष्ट्रिय युवा परिषद र रिटर्नी माईग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीमा गएका दक्ष युवाहरुलाई स्वदेशमै उद्योग सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो।दक्ष युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी उद्यम सञ्चालनका लागि एनएमबी बैंकले १० लाखसम्म ऋण दिने भएपछि वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु उत्साहित भएका छन् । तर आवश्यक प्रकृयाबारे जानकारी नहुँदा अन्यौल भएको छ।
बैंकले रिटर्नी माईग्रेट नेपाल र वैदेशिक रोजगार बोर्डको सिफारिसमा विभिन्न प्रकृया पुरा गरेर कर्जा प्रवाह गर्ने भएको छ । कर्जाका लागि सिफासि माग्दै ७६ वटा आवेदन प्राप्त भएको रिटर्नी माईग्रेट नेपालका केन्द्रिय अध्यक्ष अत्तम अधिकारीले बताए। आवेदन प्राप्त भएकोमा ७ वटाको मात्र आवश्यक प्रकृया पुरा भएकाले बैंकलाई सिफारिस गरिएको जानकारी दिए।प्रकृया पुरा गरि आएको आवेदनलाई बैंकमा कर्जाका लागि सिफारिस गरिएको छ। रिटर्नीको २४ वटा वटै जिल्ला शाखाले आवेदन संकलन गरेर केन्द्रमा पेश गर्न सक्नेछ। कर्जा व्यवस्थापनका लागि आवेदनको पायक पर्ने बैंकको शाखा मार्फत प्रकृयाका लागि केन्द्रिय बैंकमा सहुलियत कर्जाका लागि डिपार्ट व्यवस्था गरिएको छ।बैंकले उद्यमको व्यवसायिक योजनाका आधारमा १० लाखसम्म कर्जा प्रवाह गर्नेछ। कर्जा प्राप्तीका लागि आवेदनकको उमेर ५५ वर्ष नपुगेका हुनुपर्ने र वैदेशिक रोजगारीबाट फर्किएको ३ वर्ष नपुगेको तथा वैदेशिक रोजगारीमा कम्तीमा ६ महिना काम गरेको र अन्य देशको पीआर र ग्रिन कार्ड नलिएको प्रमाण पेश गर्नुपर्नेछ। त्यसैगरि आवेदनले पेश गरेको व्यवसायिक योजना वैदेशिक रोजगारीमा सिकेको सीप भएको खुल्ने काजगपत्र, व्यवसायिक परियोजना र परियोजनाको प्रस्तावक र जमानीकर्ता सिआबी को ब्याल्क लिस्टमा नपरेको हुनुपर्ने, रिटर्नी माईग्रेट नेपाल र वैदेशिक रोजगार बोर्डको सिफारिससहित नेपाली नागरिकताको फोटोकपी, व्यवसाय दर्ता (प्यान) को प्रमाणपत्र, अन्य कुनै बैंक वा वित्तिय संस्थामा ऋण नलिएको हुनुपर्ने, सवारी साधानका लागि आवेदनकर्ताको सवारी चालक परिचय पत्र, वित्तिय साक्षरता तालिम लिएको कागजात पेश गर्नुपर्ने छ। रिटर्नी माईग्रेट नेपालका सचिव रामकृष्ण घिमिरेले व्यवसायको निर्धारण गरेर केन्द्रीय कार्यालयमा पेश गरेको आवेदन दिनका लागि एक दिने वित्तिय साक्षरता तालिम लिएको हुनुपर्ने बताए। उनका अनुसार बैदेशिक रोजगार बोर्डले सञ्चालन गरेको तालिम लिएर १८ हजार ७ सय ६७ जना सूचीकृत भएका छन्। बोर्डले गत पुसमा सूचिकरणका लागि निवेदनको आह्वान गरेको थियो।
विदेशमा विभिन्न दुःखकष्ट भोग्दै काम गर्न विवश युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी गरिएको एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले जानकारी दिए। बैंकले तत्कालका लागि परियोजना धितोमा १ अरवसम्म ऋण प्रवाह गर्ने पनि समझदारी पत्रमा उल्लेख गरिएको छ। अध्यक्ष गोल्यानले त्यो कर्जा माग र आवश्यक्ताको आधारमा थप गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुले सिकेको सीपको आधारमा उद्योगमा लगानी गर्न सो कर्जा प्रवाह हुने छ।