विप्लवको उपत्यकासहित १५ जिल्ला बन्द, कुन कुन जिल्ला परे, (हेर्नुहोस् विज्ञप्ति)

पुष्कर खड्का  रामेछाप 
काठमाडौं । नेताकार्यकर्तामाथिको दमन, धरपकड र ज्यादतीबिरुद्ध भन्दै नेपाल कम्युनिष्ट पार्टीले बुधबार उपत्यकासहित १५ जिल्ला बन्द आव्हान गरेको छ । पार्टी केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्जसमेत रहेका चर्चित जनकलाकार माइला लामा गिरफ्तार भएपछि नेकपाले त्यसको विरोध बन्द आव्हान गरेको हो । पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै नेता लामाको गिरफ्तारी गैरन्यायिक भएको भन्दै निन्दा तथा घोर भत्र्सना गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बुधबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, रामेछाप र दोलखासमेत बन्द हुनेछन ।बन्दको पूर्वसन्ध्यामा नेकपाले मंगलबार साँझ १५ वटै जिल्लामा मसाल जुलुस गरेको छ । नेकपा उपत्यका ब्युरोले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार काठमाडौं, भक्तपुर र ललितपुरसहित रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, रामेछाप र दोलखासमेत मसाल जुलुस गरेका छन् । यता बन्दको पूर्वसन्ध्यामा नेपाल प्रहरीले नेकपा नेतृ धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई गिरफ्तार गरेको छ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिव समेत रहेकी भृकुटीलाई प्रहरीले काठमाडौंको बुढानिलकन्ठबाट गिरफ्तार गरेको हो ।पछिल्लोसमय सरकारले वार्ता गर्ने हल्ला फैलाएर आफ्ना पार्टीका नेता कार्यकर्तालाई दमन गर्ने गिरफ्तार गर्ने र ब्यापक धरपकड गर्ने गरेको भन्दै नेकपाले काठमाडौँ उपत्यकासहित १५ जिल्ला बन्दको आव्हान गरेको बेला नेतृ भृकुटीलाई प्रहरीले गिरफ्तार गरेको हो । यसअघि पटक पटक गिरफ्तार परिसकेकी भृकुटी लामो समयदेखि पार्टीको काठमाडौँ जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । भृकुटीलाई कहाँ राखेको छ भन्ने प्रहरीले केही जानकारी नदिएको पारिवारिक स्रोतले बताएको छ । यसैबीच नेकपालले सरकारी दमनबिरुद्ध बुधबार आयोजना गरिएको बन्द कार्यक्रममा साथ दिएर सहयोग गर्न सबै पक्षलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस