ओखलढुंगाका युवा व्यावसायिक किवी खेतीमा आकर्षित अन्तर्राष्ट्रिय बजारमै निर्यात गर्ने लक्ष्य

पुष्कर खड्का रामेछाप 
ओखलढुंगाका युवाहरु राम्रो आम्दानी हुने भएपछि व्यवसायिक रुपमा किवी खेती गर्दै आएका छन् । बजारमा पनि राम्रो माग र उच्च मूल्यमा किवी विक्रि हुन थालेपछि उनीहरुले व्यवसायिक रुपमा नै किवी खेती गर्न थालेका हुन् । किवी खेतीबाट युवाहरुले राम्रो आम्दानी गरिरहेका छन् ।
यी हुन् ओखलढुंगाका मानेभन्ज्याङ गाँउपालिका ५ का होमबहादुर मगरका तीन दाजुभाई । उनीहरुले अहिले आफ्नै गाँउ ठाँउमा व्यवसायिक रुपमा किवी खेती शुरु गर्दै आइरहेका छन् । राम्रो आम्दानी हुन थालेपछि उनीहरु तीन दाजुभाई नै मिलेर खेतीलाई व्यवसायिक रुप दिएका हुन् । अघिल्लो आर्थिक वर्षमा उनीहरुले तीन लाखभन्दा बढीको किवी विक्रि गरेका थिए । यस वर्ष पनि किवी राम्रो फलेकोले राम्रो आम्दानी हुनेमा ढुक्क छन् ।

त्यस्तै ओखलढुंगा कै सिद्धिचरण नगरपालिका ५ का कैलाश दाहाल पनि व्यवसायिक किवी खेतीमा नै लागेका छन् । अभियान कृषि विकास केन्द्र नामको कम्पनी नै दर्ता गरेर उनले २०७४ देखि किवी खेती गर्दै आएका छन् । अघिल्लो वर्ष सामान्य आम्दानी भएपनि यस वर्ष राम्रो हुनेमा उनी आशावादी छन् ।दाहालले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट किवी जोन पकेट क्षेत्र अन्तर्गत एक लाख ९२ हजार रुपैयाँ अनुदान पनि पाएका थिए । व्यवसाय थप प्रर्वद्धन गरेर किवी उत्पादनमा बृद्धि गर्न सके अन्तर्राष्ट्रिय बजारमा नै निर्यात गर्ने लक्ष्य उनको छ ।सरकारले कृषि क्षेत्रमा लागेका युवा जनशक्तिलाई विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको छ । किवी खेतीको व्यवसायिक खेतीका लागि ओखलढुंगामा कृषकहरुले शुरुवात गरेको र त्यसको विस्तृत अध्ययन हुनुपर्ने कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्राविधिक सहायक टिका बानियाँ बताउनुहुन्छ ।वैदेशिक रोजगारीका लागि जाने युवाहरुलाई व्यवसायिक खेतीतर्फ उन्मुख गराउन सके एकातिर युवाहरुले स्वरोजगार हुन्छन् भने अर्कोतर्फ उत्पादित बस्तुलाई निर्यात गर्न सक्ने आर्थिक उपार्जन समेत हुन सक्दछ । जसका लागि आधुनिक खेती प्रणालीमार्फत व्यवसायिक खेतीलाई जोड दिनुपर्ने कृषि प्राविधिकको सुझाव रहेको छ ।

प्रतिक्रिया दिनुहोस