पुष्कर खड्का रामेछाप
भक्तपुर – मध्यपुर थिमि नगरपालिका बोडेमा मंगलबार २ जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरको बोडेमा कोठामा बस्दै आएका २१ वर्षीय जीवन तामाङ र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बोडेमा बस्दै आएकी १८ वर्षीया मंगली घिसिङ भएको महानगरीय प्रहरी वृत्त ठिमिले जानकारी दिएको छ ।
उनीहरु कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी वृत्त ठिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।बोडेमा कोठा भाडामा बस्ने जीवन र रामेछाप बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान प्रहरीले गरेको छ ।सवारी चालकको काम गर्दै आएका जीवनको सिन्धुपाल्चोकमा श्रीमती रितु तामाङ र दुई वर्षकी छोरी हुँदाहुदै मंगलीलाई कोठामा ल्याएर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बताएको छ ।यही साउन ११ गते महानगरीय प्रहरी वृत्त ठिमिमा श्रीमतीले श्रीमानको चालचलन ठिक नभएको र अर्की केटीसँग लागेर आफूलाई बेवास्ता गर्दै आएकाले निजलाई झिकाइ आवश्यक कारबाही गरी पाउँ भन्दै उजुरी दिएकी थिइन् ।त्यसपछि प्रहरीले जीवनलाई बोलाएर प्रहरीसँगको छलफलमा जीवनले अब रितुसँग नै बस्छु र उनको रेखदेख गर्ने, खान लगाउन दिने लगायतका सबै आवश्यकता पूरा गरिदिन्छु भन्दै कागज समेत गरेको प्रहरीको भनाइ रहेको छ ।प्रहरी वृत्तबाट निस्किएपछि जीवनले श्रीमती रितुलाई १ हजार रुपैयाँ दिएर कोठामा जाउ भन्दै पठाएका थिए । तर मंगलबार बिहान जीवन र मंगली घिसिङको शव उनीहरु बस्दै आएको कोठामा झुण्डिएको अबस्थामा फेला परेको प्रहरीको भनाइ रहेको छ ।घरमा श्रीमती हुदाँहुँदै बाहिर युवतीसँग प्रेम सम्बन्धको बारेमा बाहिर हल्ला भएपछि उनीहरुले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
मृतक दुई जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको ठिमी प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिनु भयो ।