फेरिंदै तिज मनाउने शैली

अबिसेक डाँगी    काठमाडौं  ,   तीज संस्कृति कि सकस ?कतिपय विश्लेषक र संस्कृतिकर्मी तीजको रूढिसँग जोडिएको पाटो सभ्य समाजका लागि घातक मान्छन् । उनीहरूका अनुसार तीज खारेज गर्नुपर्ने पर्व हो । कुनै प्रचलित परम्परा खारेज गर्नु बोल्नजति सहज छैन । कुनै संस्कृतिलाई व्यापक स्तरमा ठूलो समुदायले अप्रासंगिक बनाउनसकेमा त्यो नयाँ धारातर्फ प्रवाहित त हुन्छ तर प्रचलित संस्कृतिको बलात् खारेजी कति सम्भव होला ?

संस्कृति अत्यन्तै जटिल र अनिश्चित किसिमको विषय हो भन्छन् चिन्तक निनु चापागाईं । यसलाई मानिसले निर्माण गरेको दोस्रो प्रकृति भनिन्छ । संस्कृति समाजको अर्थतन्त्र र राजनीतिक विचारधाराको अभिव्यक्ति हो ।

माक्र्सवादीहरू संस्कृतिको रचना र विकासलाई उत्पादन सम्बन्धसँग जोडेर व्याख्या गर्छन् । संस्कृतिसँग मानवजातिको सर्वतोमुखी विकास जोडिनुपर्छ भन्ने मान्छन् । संस्कृतिलाई हेर्ने र विश्लेषण गर्ने दृष्टिमा तत्कालीन समाजको आर्थिक, राजनीतिक व्यवस्थाको आलम्ब चाहिन्छ भन्छन् । तीजको सन्दर्भमा पनि यही लागू हुन्छ ।

तीजको सांस्कृतिक उद्भव पुराणका कथालाई टेकेर सामन्तवादी व्यवस्थामा भयो । तत्कालीन समयका निर्देशक ब्राह्मणग्रन्थ र स्मृतिहरू सामन्तवादी अर्थव्यवस्थाको अभिव्यक्ति स्वरूप बने । खस–आर्य समुदायका विधिविधान तिनै ग्रन्थ र स्मृतिजन्य संहितामा आधारित छन् ।

संहिताकाल अघि आर्य र अनार्यका रूपमा विभाजित पूर्वीय समाज त्यसपछि वर्णाश्रम व्यवस्थाले पेसा अनुसार निर्धारित जात हुँदै जन्मकै कारण छूत र अछूत वर्णमा विभाजित भयो । नारी–पुरुष बीचको सांस्कृतिक विभेद योभन्दा पुरानो मानिन्छ ।

ब्राह्मणवादी संहितामा पुरुष श्रेष्ठ र नारी हीन मानिएका प्रशस्त सन्दर्भ भेटिन्छन् । एकातिर महिलालाई शक्ति, श्री र विद्याका स्रोत मानेर पुज्ने परम्परा छ । अर्कोतिर महिलामाथि चरम शोषण, दोहन र हिंसासमेत हुन्छ । यस्तो दोहोरो मापदण्डवाला समुदायमा तीज पर्व रचना भएको छ ।

यो स्पष्ट रूपमा मर्दवादी आर्थिक र सांस्कृतिक वर्चस्वको राजनीतिले निर्माण गरेको प्रभावशाली संकथन हो । यसमा कथिएका किंवदन्ती र कथा त्यस्ता साक्ष्य हुन्, जसले महिलाको शरीरमाथि, तिनको विवेक र स्वायत्ततामाथि निरन्तर भय र हस्तक्षेपको खेल खेलिरहेका छन् ।

तीजमा पूजा गर्नाले आध्यात्मिक आनन्द पाइन्छ भन्ने महिलाको पनि कमी छैन । त्यस्तो आनन्दको तर्क बडो हास्यास्पद र विडम्बनापूर्ण लाग्छ । तीजका पूजा–व्रत केवल पितृसत्ताजन्य अहंकारकै स्तुति र आराधना हुन् । महिलाको व्यक्तित्व र गरिमाका उपहास हुन् । पुलिङ्गकेन्द्री राजनीतिको दुष्चक्रका अगाडि निरीह आत्मघातभन्दा बढी केही होइनन् ।

यो राजनीतिले पुरुषलाई स्वामी र महिलालाई स्वामित्वको अधीनस्थ भोगको वस्तुमात्रै मान्छ । यो चिन्तनले युगौंदेखि निष्कंटक रूपले महिलामाथि शारीरिक र मानसिक हिंसा गर्न प्रेरित गरिरहेको छ । यो चिन्तनले पुरुषलाई झन्–झन् बर्बर र पाशविक बनाइरहेको छ ।

तीजको सांस्कृतिक अभ्यास विगतदेखि वर्तमानसम्म पनि उस्तै छ । हिजो मानिससँग भौतिकवादी सोचको अभाव थियो । शास्त्र र धर्मका नाममा शासन गर्नेको बोलवाला थियो । उक्त सत्ता धेरै बलियो भएकाले समग्र समाजले चाहेर–नचाहेर पत्याउनैपथ्र्यो ।

अब ज्ञान–विज्ञान र कार्यकारणको खोजी गर्दै जाँदा हाम्रा संस्कृति कति सही र कति गलत छन्, थाहा पाइँदैछ । भौतिकवादी वैज्ञानिक चिन्तन, तार्किक सोच र अभियानमार्फत तीज वा यस्ता पर्वका जडता उखेल्नु आजको महत् कार्यसूची हो ।

शिक्षा र पठन संस्कृतिको प्रसारले पछिल्ला दशकमा महिलाहरू संस्कृतिका विद्रुप पक्षमाथि प्रश्न उठाउने हैसियत बनाइरहेका छन् । बिना प्रश्न र कार्यकारण, आत्मघाती रुढी र अन्धताको पछिपछि दगुर्न इन्कार गर्नेहरूको राम्रै पंक्ति तयार भइरहेको छ । तर त्यो एकैठाउँमा छैन, छरिएको छ ।

त्यसले लेखपढ, विमर्श, अनुसन्धान, प्रतिकार गरिरहेको छ । साझा उल्लासको मानक हुँदा संस्कृति अनुकरणीय र संरक्षण योग्य हुने हो । विशाल समुदायमाथि विभेद र हिंसा प्रेरित हुने कथा गाँसिएका छन् भने त्यो संस्कृति होइन, सकस हुन जान्छ । बाल्यकालदेखि नै संस्कृति भनेर मान्दै आएका कुरा आफ्नालागि पीडक नै किन नहुन्, मानिस त्यसैमा आनन्दित होउन्जेल सामुहिक प्रतिकार र परिवर्तन गाह्रो हुन्छ ।

अज्ञान नै सुख हो भनेजस्तै । तर जुन दिन त्यस्ता अभ्यासको असली खेला बुझिन्छ, प्रतिरोध गर्ने हिम्मत पलाउँछ । हिजोसम्म मान्य र ग्राह्य कुरा छोडिँदै जान्छन् । सामन्ती र धर्मप्रधान बन्द समाजका सांस्कृतिक ढाँचा यसरी नै फेरिँदै र तोडिँदै आएका हुन् ।

। तीजको बारेमा कुरा गर्दा धेरै कोणबाट कुरा सकिन्छ, तीजको गितमा आएको परिवर्तन, पार्टी प्यालेसमा हुने तिजका भोज, गहना र महंगा साडी, हरितालिकाको दिनमा पानीपनि नखाइ गरिने वर्त, ऋषि पञ्चमीका दिनमा सुनाईने कथा लगायत यावत विषयहरु छन् ।
यी यावत विषयलाई तीनभागमा बाडेर कुरा गर्न सकिन्छ, पहिलो अहिले तीजको माध्यमबाट गैर हिन्दु महिलाहरु संकृतकरण भई रहेका छन् । दोस्रो अहिले भईरहेको तीजको नारीवादी ब्याख्या गलत छ । र, तेस्रो तीजलाई पनि ब्यापारिक पुँजीवादले अन्य कुरालाई झै प्रभावित बनाई रहेको छ ।

तिजको सस्कृतकरण
तीज खास गरी हिन्दु धर्मका शिवमार्गी केहि जाती(ब्रामण, क्षेत्रीको र केहि मगर)हरुको महत्वपूर्ण चाड हो । तर, अहिले तीज सबै नेपाली महिलाको महान चाड हो भनेर भन्न थालिएको छ । महिलाहरुले आफ्ना मनका बेदना पोख्ने पाउने हुनाले महान चाडको पगरी गुथाईएको छ । सहरबजारका तीजलाई झलक्क हेर्ने हो भने, पक्कै पनि यो हिन्दु महिलाहरुको मात्रै चाड हैन । किन कि सहरमा हुने नाच गान र दर कार्यक्रममा सबै जाति, भाषा, धर्मका महिलाहरुको सहभागिता भएको हुन्छ । जसमा तराईबाट आएकी थारु महिला पनि जरीवाला साडी र सुनको नेक्लेसमा हुन्छन् । जिरिबाट आएकी जिरेल होस् वा झापाबाट आएकी धिमाल सबै नै भारतिय जरिवाला साडी र सुनका गहनामा सजिएका हुन्छन् ।

तीजको दर खाने कार्यक्रमलाई मात्र हेर्ने हो भने, तीज कुनै एउटा समुदायका महिलामा सिमित छैन । विशेष गरि काठमाण्डौमा र विदेशमा रहने नेपाली महिलाहरु जुन सुकै जात र धर्मका भए पनि तीज मनाउँछन् । हिन्दु धर्म भित्रको संस्कृतिलाई आफ्नो संस्कृतिको भन्दा बढी मान्यता दिदै जाने समाजको यस्तो परवर्तनलाई भारतिय समाजशास्त्री एम एन श्रीनिवास समाजको संस्कृतकरण (संस्कृताईजेशन) भन्छन् । हुनत यसलाई संस्कृतकरण भन्ने या हिन्दुकरण भन्ने विवाद छ । यो संस्कृतकरण वा हिन्दुकरण जे भने पनि आफ्नो सस्कृती भन्दा हिन्दु धर्मभित्रको संस्कृतीलाई मान्यता दिने कुरा नै यसको अर्थ हो । तीजको संस्कृतकरण यसकारण हो कि, तीजको खानपान हिन्दुहरुको खान पान (दर अर्थात् खिर), भाषा(अर्थात् तीजका गितको नेपाली भाषा), लवाई (सामान्य तया हिन्दु महिलाले लगाउने १२ हाते साडी, चुरा, पोते) ले अहिलेको तिजको रौनाक ल्याएको छ । खान पान, नाचगान र पहिरणले पनि तीज हिन्दु मात्रैको हैन भन्नु यस्तो कुरा हो कि जनै लगाएको मानिसले म हिन्दु हैन भन्नु जस्तै हो ।

सस्कृतकरणको प्रक्रिया अर्कै सस्कृति भएका मानिस हिन्दुधर्मको सस्कारमा समाहित(एसिमिलेशन) हुने प्रक्रिया पनि हो । पहिचानको आन्दोलनको कोणबाट हेर्नेहो भने एसिमिलेशनको प्रक्रिया अल्पसंख्यकहरुको पहिचान पतनहुँदै जाने क्रम हो । तर, आफुलाई जानजातिय संगठनका नेता र जनजातीय आन्दोलनका कार्यकर्ता सम्झनेहरु पनि तीज भब्यरुपमा मनाईरहेका छन्, मनाउनको लागि सहयोग गरेकाछन् । सबै धर्म र जातीका सबै चाड पर्वलाई समान मान्यता दिइनु पर्छ भन्नेहरु तीजलाई किन भब्यरुपमा मनाई रहेका छन् ? जनजातिय संगठनहरुले किन आफ्ना महिला कार्यकर्तालाई संस्कृतकरण हुनबाट रोक्न सकिरहेका छैनन् ? यो जनजातीय आन्दोलनका सदस्यले दिनु पर्ने जवाफ हो ।

नारीवादी ब्याख्या
तीज महिलाको महान चाड हो, यसले महिलालाई स्वतन्त्रताको अनुभुति दिन्छ, तीजमा महिलाले आफ्ना पिडा विसाउने ठाउँ पाउँछन् भनेर ब्याख्या गर्ने र त्यसलाई नारीवादसँग जोडेर हेर्ने गरिन्छ । राजनीतिक, सामाजिक आन्दोलनका महिलाहरु यो चाडलाई महिलाका मुद्धालाई उठाउने अबसरको रुपमा ब्याख्या समेत गर्छन् । तीजलाई लीएर यसरी गरिएको नारीवादको ब्याख्या गलत छ ।

अहिले पनि सरकारले तीज मनाउन महिलालाई खासै राम्रो विदाको व्यवस्था गरेको छैन । तीजको मुल मर्म वर्षदिनमा केहिदिन माइतिमा जानु, माइती र बाल्यकालका साथीहरुसगँ रमाईलो गर्नुसँग गएर जोडिन्छ, दर खाने दिनमा आमा वा भाउजुको हातबाट बनेको मिठो मसिनु खानुसँग गएर जोडिन्छ । तीजको विदाको कुरा गर्दा ह्रवास्स नेपाली पृतृसत्ताको गन्ध आउने ब्यवस्था छ । महिलाहरुका लागि तिजको दरले खास महत्व राखे पनि सरकारले भोलिपल्टको वर्त र ऋषि पञ्चमीको दिनमा विदा दिन्छ । तीजमा गरिएको यस्तो विदाको व्यवस्थाले कामकाजी महिलाहरु तीज मनाउन पाउँदैनन् । परम्परागत रुपमा तीज मनाउनेलाई पिडा थप्ने काम गर्छ । विदाको ब्यवस्था हेर्दा यस्तो लाग्छ, श्रीमतीको सिउदोको सिन्दुर र गलाको पोतेमा आफ्नो भविष्य देख्न कुनै हिन्दु ब्रामणले यसको ब्यवस्था गरेका हुन् ।

अर्को तीजमा भेटाघाट र महिलाका मुद्धा उठाउने चाडको रुपमा ब्याख्या गरिन्छ । भेटघाट हुन र महिलाका मुद्धामा आवाज उठाउनको लागि तीज कुर्नु पर्छ ? तीजका कार्यक्रममा यस्ता भाषण गर्ने महिलाहरुले कुन तीजमा कुन महिलाको कुन मुद्धालाई उठाएर हिडेका छन् ?

प्रतिक्रिया दिनुहोस