आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको अन्तिम खेलमा नेपाल घरेलु टोली सिंगापुरसँग पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको हो । सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो । ५४ रन जोड्दा नेपालले ज्ञानेन्द्र मल्ललाई ३९ रनमा गुमाएको थियो । त्यसपछि नेपालको इनिङ्स धरासायी बनेको थियो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । खराब सुरुवात गरेपनि रोहन रंगराजन र टिम डाभिडले सिंगापुरको इनिङ्स उकासेका थिए । मात्र १० रन जोड्दा पहिलो विकेट गुमाएको सिंगापुरका लागि रोहन र टिमले दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए । सिंगापुरको उच्च स्कोरमा टिमले ७७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहनले ४९ रन…