नेपालमा भनसुन उद्योग सुरू भइसक्यो: देउवा

काठमाडौं ,   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ मात्र फस्टाइरहेको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रह लोर्कापण कार्यक्रमा सभापति देउवाले नेपालमा सबै भन्दा ठूलो उद्योगको रूपमा भनसुन उद्योग फस्टाएको औंल्याए । लोकसेवा आयोगको परीक्षामा समेत भनसुन चल्ने गरेको उनले दाबी गरे ।

उनले भने, ‘नेपालमा भनसुन उद्योग शुरू भइसक्यो । सबभन्दा ठूलो उद्योग भनेको भनसुन उद्योग हो । जसको भनसुन हुन्छ उसको चल्छ । लोकसेवा आयोगको लिखित परीक्षा पास भएर के गर्नुहुन्छ ? भनसुन गर्ने मान्छे छैन भने फेल गर्दिन्छन् ।’

उनले निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लाग्न नसकेको, दण्डहीनता र हिंसाका घटनाहरू बढ्दै गएको, भ्रष्टाचारलगायत सुशासन कायम हुन नसकेकाले मुलुकमा असल राजनीतिज्ञको आवश्यकता रहेको बताए ।

कार्यक्रममा सक्षम नेता भएर पनि गुरु घिमिरेलाई पार्टी नेतृत्वले संरक्षण गर्न नसकेको विषयमा शीर्ष नेताहरूबीच बहस नै चल्यो । महामन्त्री शशांक कोइरालाले नेतृत्वले घिमिरेलाई राजनीतिमा सुरक्षित गर्न नसकेको भन्दै साहित्यमा ९० र राजनीतिमा १० प्रतिशत समय दिन सुझाव दिएपछि सभापति देउवाले अबदेखि अन्याय हुन नदिने प्रतिवद्धता नै गरे ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा भोग्नु परेको असफलताले साहित्यमा सफलता प्रदान गरेको भन्दै सबै घटनालाई सकारात्मक लिन आग्रह गरे । महामन्त्री कोइरालाले भने, ‘गुरुराजजी तपाईंलाई सेभ गर्ने नेतृत्व भएन । न मैले सकें । न शेरबहादुरजी ले सक्नुभो । न रामचन्द्र दाइले ।

उहाँ त चुनावमा लड्ने मान्छे हो । तर उहाँले टिकट पाउनु भएन । किनभने हामीले उहाँलाई संरक्षण दिन सकेनौं । त्यसैले म के भन्न चाहन्छु भने ९० प्रतिशत साहित्यकार हुनु १० प्रतिशत मात्रै राजनीति गर्नू ।’

महामन्त्री कोइरालाले नेतृत्वले संरक्षण गर्न नसकेको भन्दै ९० प्रति साहित्यलाई र १० प्रतिशत मात्रै राजनीतिलाई दिन सुझाव दिएपछि कार्यक्रम हाँसोले गुञ्जायमान बनेको थियो। लगत्तै बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिमा पाएको ठक्करले प्रतिभा प्रष्फुटन भएको टिप्पणी गरे ।

उनले भने, ‘विशेष प्रकारका घटनाहरूको संघारबाट प्रतिभाको प्रस्फुटन हुन्छ । उहाँलाई पनि निर्णयको घटनाको संघारबाट प्रतिभा प्रस्फुटन भएको हो । कहिलेकाहीं नराम्रो कुराले पनि राम्रो हुने गर्छ ।’

सभापति देउवाले त नेता घिमिरेलाई अन्याय नभएको स्वीकारै गरे । उनले भने, ‘वास्तवमा अन्याय भएको छ । एउटा सिट हुन्छ । ५० जना चाहन्छन् । कसरी हुन्छ ? राजनीतिबाट टाढा नरहनू । अब अन्याय नगर्ने किसिमले जाउँला । राजनीति र साहित्यलाई सँगसँगै लैजानुहोस् ।’

प्रतिक्रिया दिनुहोस