वीरगञ्ज । अविरल वर्षपछि आएको बाढीले पर्सामा १६२ घरमा पूर्णरुपमा क्षति पुर्याएको छ । ३९१ घरमा आंशिक क्षति भएको छ । बाढीबाट ६७७ घरपरिवार प्रभावित भएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको पछिल्लो तथ्याङकअनुसार बाढीले चार हजार ३५० जना प्रभावित भएका छन् ।
त्यसै गरी जीवीकोपार्जनतर्फ १० लाख ९ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको छ । स्वास्थ्य क्षेत्रमा ४० हजार मूल्य बराबरको क्षति भएको छ ।
स्वास्थ्य क्षेत्रमा वीरगञ्ज महानगरपालिका-११ मा २० हजार र कालिकामाई गाउँपालिकामा २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
जिल्लामा सबैभन्दा बढी क्षति वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, छिपहरमाई र जगरनाथपुर गाउँपालिकामा पुर्याएको छ ।
वीरगञ्ज महानगरभित्र ४९ घरधुरी, पोखरीयामा ४९, छिपहरमाई र जगरनाथपुरमा क्रमशः २६ र १८ घरधुरीमा पूर्ण क्षति भएको छ ।
क्षतिको प्रारम्भिक विवरण संकलन गरिसकिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
‘क्षतिको आंकलन गर्न बनाइएको मापदण्ड अनुसार नै समिति बनाएका थियौं, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटी र वडा अध्यक्षसहितको समतिले घर घर पुगेर क्षतिको विवरण संकलन गरेको हो,’ उनले भने, ‘केही छुटेको हुन सक्छ, त्यसमा सच्याउने काम हुन्छ ।’