तीजः संस्कृतकरण, नारीवाद र पुुजीवाद

निशा न्यौपाने , काठमाडौं ,   तीजका सामाजिक, धार्मिक, आर्थिक र सास्कृतिक पक्षहरु छन् । तीजको बारेमा कुरा गर्दा धेरै कोणबाट कुरा सकिन्छ, तीजको गितमा आएको परिवर्तन, पार्टी प्यालेसमा हुने तिजका भोज, गहना र महंगा साडी, हरितालिकाको दिनमा पानीपनि नखाइ गरिने वर्त, ऋषि पञ्चमीका दिनमा सुनाईने कथा लगायत यावत विषयहरु छन् ।
यी यावत विषयलाई तीनभागमा बाडेर कुरा गर्न सकिन्छ, पहिलो अहिले तीजको माध्यमबाट गैर हिन्दु महिलाहरु संकृतकरण भई रहेका छन् । दोस्रो अहिले भईरहेको तीजको नारीवादी ब्याख्या गलत छ । र, तेस्रो तीजलाई पनि ब्यापारिक पुँजीवादले अन्य कुरालाई झै प्रभावित बनाई रहेको छ ।

तिजको सस्कृतकरण
तीज खास गरी हिन्दु धर्मका शिवमार्गी केहि जाती(ब्रामण, क्षेत्रीको र केहि मगर)हरुको महत्वपूर्ण चाड हो । तर, अहिले तीज सबै नेपाली महिलाको महान चाड हो भनेर भन्न थालिएको छ । महिलाहरुले आफ्ना मनका बेदना पोख्ने पाउने हुनाले महान चाडको पगरी गुथाईएको छ । सहरबजारका तीजलाई झलक्क हेर्ने हो भने, पक्कै पनि यो हिन्दु महिलाहरुको मात्रै चाड हैन । किन कि सहरमा हुने नाच गान र दर कार्यक्रममा सबै जाति, भाषा, धर्मका महिलाहरुको सहभागिता भएको हुन्छ । जसमा तराईबाट आएकी थारु महिला पनि जरीवाला साडी र सुनको नेक्लेसमा हुन्छन् । जिरिबाट आएकी जिरेल होस् वा झापाबाट आएकी धिमाल सबै नै भारतिय जरिवाला साडी र सुनका गहनामा सजिएका हुन्छन् ।

तीजको दर खाने कार्यक्रमलाई मात्र हेर्ने हो भने, तीज कुनै एउटा समुदायका महिलामा सिमित छैन । विशेष गरि काठमाण्डौमा र विदेशमा रहने नेपाली महिलाहरु जुन सुकै जात र धर्मका भए पनि तीज मनाउँछन् । हिन्दु धर्म भित्रको संस्कृतिलाई आफ्नो संस्कृतिको भन्दा बढी मान्यता दिदै जाने समाजको यस्तो परवर्तनलाई भारतिय समाजशास्त्री एम एन श्रीनिवास समाजको संस्कृतकरण (संस्कृताईजेशन) भन्छन् । हुनत यसलाई संस्कृतकरण भन्ने या हिन्दुकरण भन्ने विवाद छ । यो संस्कृतकरण वा हिन्दुकरण जे भने पनि आफ्नो सस्कृती भन्दा हिन्दु धर्मभित्रको संस्कृतीलाई मान्यता दिने कुरा नै यसको अर्थ हो । तीजको संस्कृतकरण यसकारण हो कि, तीजको खानपान हिन्दुहरुको खान पान (दर अर्थात् खिर), भाषा(अर्थात् तीजका गितको नेपाली भाषा), लवाई (सामान्य तया हिन्दु महिलाले लगाउने १२ हाते साडी, चुरा, पोते) ले अहिलेको तिजको रौनाक ल्याएको छ । खान पान, नाचगान र पहिरणले पनि तीज हिन्दु मात्रैको हैन भन्नु यस्तो कुरा हो कि जनै लगाएको मानिसले म हिन्दु हैन भन्नु जस्तै हो ।

सस्कृतकरणको प्रक्रिया अर्कै सस्कृति भएका मानिस हिन्दुधर्मको सस्कारमा समाहित(एसिमिलेशन) हुने प्रक्रिया पनि हो । पहिचानको आन्दोलनको कोणबाट हेर्नेहो भने एसिमिलेशनको प्रक्रिया अल्पसंख्यकहरुको पहिचान पतनहुँदै जाने क्रम हो । तर, आफुलाई जानजातिय संगठनका नेता र जनजातीय आन्दोलनका कार्यकर्ता सम्झनेहरु पनि तीज भब्यरुपमा मनाईरहेका छन्, मनाउनको लागि सहयोग गरेकाछन् । सबै धर्म र जातीका सबै चाड पर्वलाई समान मान्यता दिइनु पर्छ भन्नेहरु तीजलाई किन भब्यरुपमा मनाई रहेका छन् ? जनजातिय संगठनहरुले किन आफ्ना महिला कार्यकर्तालाई संस्कृतकरण हुनबाट रोक्न सकिरहेका छैनन् ? यो जनजातीय आन्दोलनका सदस्यले दिनु पर्ने जवाफ हो ।

तीजको नारीवादी ब्याख्या
तीज महिलाको महान चाड हो, यसले महिलालाई स्वतन्त्रताको अनुभुति दिन्छ, तीजमा महिलाले आफ्ना पिडा विसाउने ठाउँ पाउँछन् भनेर ब्याख्या गर्ने र त्यसलाई नारीवादसँग जोडेर हेर्ने गरिन्छ । राजनीतिक, सामाजिक आन्दोलनका महिलाहरु यो चाडलाई महिलाका मुद्धालाई उठाउने अबसरको रुपमा ब्याख्या समेत गर्छन् । तीजलाई लीएर यसरी गरिएको नारीवादको ब्याख्या गलत छ ।

अहिले पनि सरकारले तीज मनाउन महिलालाई खासै राम्रो विदाको व्यवस्था गरेको छैन । तीजको मुल मर्म वर्षदिनमा केहिदिन माइतिमा जानु, माइती र बाल्यकालका साथीहरुसगँ रमाईलो गर्नुसँग गएर जोडिन्छ, दर खाने दिनमा आमा वा भाउजुको हातबाट बनेको मिठो मसिनु खानुसँग गएर जोडिन्छ । तीजको विदाको कुरा गर्दा ह्रवास्स नेपाली पृतृसत्ताको गन्ध आउने ब्यवस्था छ । महिलाहरुका लागि तिजको दरले खास महत्व राखे पनि सरकारले भोलिपल्टको वर्त र ऋषि पञ्चमीको दिनमा विदा दिन्छ । तीजमा गरिएको यस्तो विदाको व्यवस्थाले कामकाजी महिलाहरु तीज मनाउन पाउँदैनन् । परम्परागत रुपमा तीज मनाउनेलाई पिडा थप्ने काम गर्छ । विदाको ब्यवस्था हेर्दा यस्तो लाग्छ, श्रीमतीको सिउदोको सिन्दुर र गलाको पोतेमा आफ्नो भविष्य देख्न कुनै हिन्दु ब्रामणले यसको ब्यवस्था गरेका हुन् ।अर्को तीजमा भेटाघाट र महिलाका मुद्धा उठाउने चाडको रुपमा ब्याख्या गरिन्छ । भेटघाट हुन र महिलाका मुद्धामा आवाज उठाउनको लागि तीज कुर्नु पर्छ ? तीजका कार्यक्रममा यस्ता भाषण गर्ने महिलाहरुले कुन तीजमा कुन महिलाको कुन मुद्धालाई उठाएर हिडेका छन् ?

पोहोर साल कमलरी जस्तो दास प्रथाको बिरद्धमा कमलरीले आन्दोलन गरे । उक्त आन्दोलनमा कुनै पनि पार्टीका महिलासंगठनले सहभागिता जनाउने मन गरेनन् । मन त गरेनन् गरेनन्, एउटा विज्ञप्ती जारी गर्ने सम्म पनि गरेनन् । वर्षै भरि देशमा महिलाहरु बलात्कृत भईरहेका छन् । त्यसको विषयमा पनि कुनै पार्टीका महिला संगठन बोलेका छैनन् । बरु, म बलात्कृत भएँ भन्ने महिला आफै कुटपिट र अपमानको सिकार भएका छन् । देशमा आफु जस्तै महिलाहरुलाई प्रेम गरेका नाममा, बोक्सीको नाममा, पतिले भनेको बेलामा यौन इच्छा नपुराएका बाहानामा जिउँदै जलाउने काम भएका छन् त्यो बेलामा महिलाका मुद्धा उठाउन कसले कसलाई रोकेको छ ? कसैले रोकेको त थिएन नि । तर, कसैले उठाउने जाँगर गरेनन् ।

आफु जस्तै, आफ्नी आमा जस्तै, आफ्नी छोरी जस्तै महिलालाई अपमानित गर्दा, जिउदै जलाउदा, बहुविवाह गरेको न्यायधिश न्यायलयमा नियुक्ती हुँदा, आफु जस्तै महिला आफ्ना छोरी जस्तै बालिका बलात्कृत भईरहँदा नजागेको नारीबाद किन तीजमा आएर जाग्छ ? किन नारीवाद सुनका गहना र हजारौका साडीमा चम्कन्छ ? किन मुद्धामा चम्कन्न ? लोग्नेले खुलेआम भ्रष्टचार गरेर होस् वा लुटेर ल्याओस् कि खाडीको ४० डिग्री सेल्सियसमा रगत जस्ता पसिना बगाएर ल्याओस् जान्न जरुरी छैन । नेपालका महिलालाई महंगा साडी र गहना भए पुग्छ । के यहि हो नारीवाद ?

नारीवाद भनेको समानताको आन्दोलन हो, चाहे त्यो उदारवादी नारी वाद होस्, चाहे त्यो माक्र्सवादी नारीवाद होस् वा आदर्शवादी नारीवाद । के तीजले समानताको पक्षपोषण गर्छ ? तीजमा महिलाले मनपरेको पुरुष पति पाउन वर्त वस्छन् । हाम्रो समाजले मनपरेको मानिस कहाँ गएर प्रेम वा विवाहको प्रस्ताव राख्ने कुरा गर्दैन । मनमनै कल्पेर बस्न सिकाउछ । भाग्यवादी बन्न सिकाउँछ । के भाग्यवाद नारीवाद हो ?

पञ्चमीको पुजामा महिलालाई अपमानित गरिने कथाहरु छन्, कहिले काहि गाउँघरहरुमा जाँदा बुढी आमाहरु भन्छन्, छोरामान्छेको आखामा हेरेर गफ गर्नु हुँदैन । बुढी आमाहरुको मुखबाट निस्केका त्यस्ता कुराको स्कुल कुन हो ? ऋषि पञ्चमी र स्वस्थानीका कथाहरु होईनन् ? हुन भने तीनको विषयमा बहस हुनु पर्दैन ?

तेस्रो कुरा हो ब्यापारिक पुजीवादको
अहिलेको युग ब्यापारिक पुँजीवादको युग हो । सरस्वती कलेजमा मलाई कमर्स पढाउने प्राध्यापक भन्नुहुन्थ्यो कपाल नहुनेलाई काइयो बेच्न सक्नुु नै सफल व्यवसायी बन्नु हो । पुँजीवाद जसलाई जे भन्दा आफ्ना सामान बिक्छ उसलाई त्यहि भनेर ब्यापार गर्ने व्यवस्था हो । तीज पनि एउटा बजार हो, जहाँ गीत गाउने कला, नाच्ने कला, खान पकाउने कला, राम्रो साडी र राम्रा गहनाको डिजाइन गर्ने कला जस्ता धेरै कुराको ब्यापार हुन्छ । बजारको कुरा गर्ने बित्तिकै यो धरै नराम्रो कुरा हो भनेर बुझ्ने एक प्रकारको बुझाई नेपालका पढेलेखेका मानिसमा पाइन्छ ।

पुजीवाद राम्रो नराम्रो के हो भन्ने विश्लेषण गर्ने अर्कै कुरा हो । ब्यापारको लागि तीज सुबर्ण अबसर हो । जहिले आफ्ना बस्तु(बस्तुमा गाउने, नाच्ने कला पनि पर्छ) बेच्न अबसर मिल्छ । यो कसैलाई दोस दिने, दुत्कारर्ने कुरा होईन । व्यापारिको काम व्यापार गर्ने नै हो । किन तीजमा कथित उत्ताउला गीत निस्कन्छन् ? किनकि मान्छेको चाहना त्यस्तै गीतमा छ । मानिसहरु उत्ताउला गीत नै सुन्न चाहन्छन् । तीजको दर पार्टी प्यालेसमा भयो भन्ने चर्को गुनासो सुन्न, पढ्न पाइन्छ । तर, भुल्न नहुने कुरा के छ भने, नेपालीहरु अब आगन पोलेर विवाह र वर्तवन्ध पनि गर्दैनन् । न त बच्चाको पास्नी नै घरमा गर्छन् । अरु धेरै भेटघाट जस्तै तीजको भेटघाट पनि पार्टी प्यालेसमा हुन्छन् । यो हुनुको एउटै कारण हो बजारको व्यवस्था । तीजलाई पनि बजारले प्रभावित पारिरहेको छ । र बजारद्धारा मानिसहरुका व्यवहारहरु निर्माण भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस