अमेरिकाले आप्रवासीलाई आफ्नै देश फिर्ता गर्न फास्ट ट्रयाक प्रक्रिया अपनाउने

अमेरिकाले गैरकानुनीरुपमा बस्दै आएका आप्रवासीलाई उनीहरुकै देश फिर्ता गर्न फास्ट ट्रयाक प्रक्रिया अपनाउने भएको छ ।कानुनी दायरामा नआएका या कानुनसम्वत् आप्रवासी वन्नका लागि कागजात पूरा गर्न नसकेकालाई उनीहरुकै देश फर्काउन अमेरिकाले फास्ट ट्रयाक प्रक्रिया अपनाउने भएको हो ।

आप्रवासीसम्बन्धी अमेरिकी रणनीति पछिल्लो समय अनुसन्धान या सुक्ष्म निरीक्षणको घेरामा आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नीति ल्याउन लागेको हो ।आप्रवासीसम्बन्धी अदालतलाई ‘बाइपास’ गर्न अमेरिकाले ‘डिपोर्टेसन’ का लागि नयाँ प्रक्रिया सुरु गर्ने भएको हो ।

नयाँ नियमअनुसार आफू पछिल्लो दुई वर्षदेखि लगातार अमेरिकामै रहेको प्रमाणित गर्न नसक्ने आप्रवासीलाई अमेरिकाले तत्काल फिर्ता गर्न सक्ने छ । नयाँ नीति सार्वजनिक भएपछि अमेरिकाभर यो लागू हुने छ ।तर अधिकारवादी समूह अमेरिकन सिभिल लिबर्टिज युनियनले भने नयाँ नीतिविरुद्ध अदालत जाने जनाएको छ ।

विशेषगरी मेक्सिकोसँग सीमा जोडिएको अमेरिकाको दक्षिणी क्षेत्रमा रहेका डिटेन्सन सेन्टरको अवस्था तथा त्यहाँ बालबालिकाको नाजुक बसाईलाई लिएर अमेरिकाको आलोचना हुँदै आएको छ ।
सन् २०२० मा हुने राष्ट्रपति चुनावका लागि आफ्नो अभियानलाई बलियो बनाउनका लागि राष्ट्रपति ट्रम्पले आप्रवासीसम्बन्धी रणनीति थप कडा बनाउने तयारी गरेको विश्लेषकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस